घरेलु कामदारका रुपमा रहेका सुरक्षाकर्मी फिर्ता गराउन गृहमन्त्रीलाई ओलीको निर्देशन

घरेलु कामदारका रुपमा रहेका सुरक्षाकर्मी फिर्ता गराउन गृहमन्त्रीलाई ओलीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ । हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साता भित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ । गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशन लगत्तै कामदार सुरक्षाकर्मी खोजी गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए ।

सुरक्षामा खट्नु पर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थ कहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करोडौं रुपैयाँ खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले ओलीको ध्यानाकर्षण गराएका थिए । प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थ पदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोसमा प्रहरी र सेनालाई सुरक्षाका नाममा वर्षौं देखि घरेलु कामदार बनाउँदै आइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको एक अध्ययनले सुरक्षामा खट्नु पर्ने प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै १५ हजार सुरक्षाकर्मी हाकिम तथा उच्चपदस्थको घरमा कामदारको रूपमा रहेको देखाएको हो । गृहसचिव सापकोटाले हजारौं सुरक्षाकर्मी उनीहरूका हाकिम र भीआईपी कहाँ घरेलु कामदारमा रुपमा बसिरहेको पुष्टि गरे । ‘कसकोमा कति सुरक्षाकर्मी बसेका छन् तत्काल खोजी गरी काममा फर्काइने छ’, गृहसचिव सापकोटाले भने ।
अन्नपूर्णबाट

Logo