लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
36
Shares

लेखनाथ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दल आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएकी छन् ।

युनाइटेड क्लब पोखरा महानगरपालिका–१० ले सोमबारदेखि आगामी माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको १४औँ सस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तोकिएको मितिमा निर्वाचन हुने भएकाले सबै दल उत्साहकासाथ लाग्नुपर्ने बताइन् ।

उनले यस्ता महोत्सवले स्थानीयस्तरको आर्थिक गतिविधि चलायमान हुनुको साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सौन्दर्यले भरिपूर्ण पोखराको सुन्दरतालाई बिग्रन नदिन पोखराबासीहरू संरक्षण र प्रवद्र्धन अभियानमा लाग्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन् ।

गण्डकी प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले महोत्सवबाट प्राप्त मुनाफाले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायत क्षेत्रको विकासमा सहयोग गर्दै आएको क्लब पोखरामा उदाहरणीय बनेको बताए । यस्ता महोत्सवले आर्थिक गतिविधिलाई चलायमान मात्र नभई विभिन्न जातजाति, समुदायबीच एकताको भावनालाई मजबुत बनाउने धारणा राखे । साथै यसले स्थानीय कला, संस्कृतिको संरक्षणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ सोमबारदेखि सुरु भएको महोत्सवको मुनाफाबाट क्लबले वार्षिक रूपमा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका क्षेत्रमा खर्च गर्दै आएको जनाएको छ । साथै यस वर्ष पोखरामा चिडियाखाना निर्माणको योजना बनाइएको क्लबले जनाएको छ ।

महोत्सवको मुनाफाबाट क्लबले पोखरा र आसपासका क्षेत्रमा रहेका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनुका साथै ग्रामीण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए ।

दुई सातासम्म सञ्चालन हुने उक्त महोत्सवबाट रु एक करोड ५१ लख ७५ हजार आम्दानी र रु एक करोड २३ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ । थापाका अनुसार २५० स्टल रहने उक्त महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रकाश सपुत, बद्री पङ्गेनी, शान्तिश्री परियार, रवि कार्की, समीक्षा अधिकारी, अर्जुन सापकोटा, प्रिती आले, प्रकाश दुतराज, अस्मिता अधिकारी, शान्तारानी परियार, सम्झना लामिछानेलगायत राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए । यसअघि पोखराका विभिन्न भागबाट स्थानीय भेषभूषामा निस्केको झाँकीसहितको ¥याली महोत्सव स्लथमा पुगेको थियो ।

Skip This
Skip This
Logo