काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन नेतृत्व विवादबीच निर्वाचनमार्फतै अघि बढेको छ । रातभरि भएका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएको र संस्थापन–पक्षधरबीच सहमति नजुटेपछि चुनाव मार्फतै नेतृत्व चयन गर्ने निर्णय विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेका छन्।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार, “हामी संस्थापनको वार्तालाई सम्मान गर्छौँ, तर सहमति नजुटे हाम्रो तालिका अनुसार निर्वाचन अगाडि बढ्छ ।”
पोखरेलले मंगलबार बेलुकी विशेष महाधिवेशन स्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै भने, “संस्थापन पक्षले अपनत्व देखाएको भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार छैन। यो हाम्रो लागि स्वीकार्य छैन।” महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले तयार पारेको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो।
विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारी सूचीको तयारी पनि तीव्र बनाएका छन्। बुधबार बिहान वार्ताको ढोका खुला राखिएको भए पनि नयाँ निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढ्नेछ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मनोनयन दर्ता बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्म थप गरिएको जानकारी दिएका छन्।































प्रतिक्रिया