काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ भएको तीन वर्ष पूरा भएको छ। पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचन दुई वर्ष अवधि बाँकी रहँदै भदौमा भएको जेन्जी आन्दोलनपछि संसद् विघटन भएकाले कार्यकाल खुम्चिन पुगेको हो।
२०७९ सालको निर्वाचनमा दलहरूले आफ्ना उम्मेदवार मात्र उठाएनन्, दलहरूबीच चुनावी सहकार्य पनि गरेर निर्वाचन लडेका थिए। यसपटकको निर्वाचन पनि दलहरू सहकार्यमा उठ्ने हुन् वा एक्लाएक्लै भन्ने कुरा भने हेर्न बाँकी नै छ।
फागुन २१ गतेलाई निर्वाचनको मिति तय भइसकेको छ र दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेका छन्। निर्वाचन आउन ५५ दिन मात्र बाँकी रहँदा २०७९ को निर्वाचनमा सबैभन्दा धेरै मतअन्तरले जित्ने १० नेताहरूको सूची यस्तो रहेको छ।
रवि लामिछाने चितवन–२
३४,३१२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.–२ बाट ३४ हजार ३१२ मतसहित भारी मतअन्तरले विजयी भए। उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पराजित गरेका हुन्। लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ मत ल्याए।
दोस्रोपटक उपनिर्वाचनमा ४२ हजार ९६२ मतअन्तर सहित कांग्रेसका उम्मेदवार जीननारायण श्रेष्ठलाई रविले पराजित गरे। रविले पाएको मत र मतअन्तर सायद संसदीय इतिहासमै पहिलो हुन सक्छ।
प्रेम सुवाल भक्तपुर–१
३०,७९३
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल भक्तपुर निर्वाचन क्षेत्र नं.–१ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतअन्तरले निर्वाचित भएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतअन्तरले पराजित गरेका हुन्। गेलालले ११ हजार ९६८ मत मात्र प्राप्त गरे।
यो जितसँगै सुवाल फराकिलो मतअन्तरले विजयी हुने दोस्रो सांसद बनेका छन्। यसअघि पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका थिए।
नेमकिपाले भक्तपुरमा लामो समयदेखि आफ्नो प्रभाव कायम राख्दै आएको छ। सुवाल संसदमा महँगी, श्रमिक–किसानका समस्या, राष्ट्रिय स्वाधीनता र विदेशी सम्झौताप्रति आलोचनात्मक धारणा राख्दै आएका छन्।
केपी शर्मा ओली झापा–५
२८,५७६
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं.–५ बाट भारी मतअन्तरले विजयी भए। उनी सबैभन्दा बढी मत पाउने उम्मेदवार पनि हुन्। यसपटक उनी २८ हजार ५७६ मतअन्तर सहित विजयी भए। ओलीले ५२ हजार ३१९ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएर पराजित भए।
एकातिर कांग्रेस, माओवादीसहित पाँचदलीय गठबन्धन र अर्कोतिर पार्टी विभाजनबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका ओलीले पाएको मत लोभलाग्दो छ। उनी २०६४ को संविधानसभा निर्वाचनबाहेक २०४८ देखि सोही क्षेत्रबाट निरन्तर निर्वाचित सदस्य हुन्।
अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा रूकुम पश्चिमबाट २६ हजार ५८८ मतअन्तरले विजयी भए। उनले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुँदा नेकपा (एमाले) का नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याए।
वर्षमान पुन रोल्पा
२५,२२९
रोल्पा क्षेत्र नं.–१ मा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन २५ हजार २२९ मतअन्तरले निर्वाचित भए। यहाँ नेकपा (एमाले) का पूर्ण बुढामगर पराजित भए। पुनले ४१ हजार ७१४ मत प्राप्त गरी निर्वाचित भए भने बुढामगरले १६ हजार ४८५ मत ल्याए।
‘अनन्त’ लामो समयदेखि रोल्पालाई आफ्नो राजनीतिक आधार बनाएका पुन माओवादी आन्दोलनका प्रमुख नेतामध्ये एक मानिन्छन्। उनी यसअघि पनि रोल्पाबाट निर्वाचित भइसकेका छन्। पुनले सरकारमा अर्थमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसहितका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
सुनिल शर्मा मोरङ–३
२५,८९५
यसपटकको संसदीय निर्वाचनमा फराकिलो मतअन्तरले विजयी हुनेमा मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–३ बाट नेपाली कांग्रेसका सुनिलकुमार शर्मा पनि छन्। एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित गरी शर्मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
शर्माले ४८ हजार ६३१ मत प्राप्त गरे। ढकालले २५ हजार ८९५ मत प्राप्त गरे। यसअघि २०७४ मा शर्मा ढकालसँग एक हजार ९०७ मतअन्तरले पराजित भएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले १०,२८९ मत पाएकी थिइन्।
डा. तोसिमा कार्की ललितपुर–३
१८,१७३
यस्तै ललितपुर क्षेत्र नं.–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की भारी मतअन्तरले विजयी भइन्। उनले लोकतान्त्रिक वाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पहिलो पटक पराजित गर्दै संसदीय यात्रा सुरु गरिन्।
उनी आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अमृत खड्कालाई १८ हजार १७३ मतअन्तरले पछि पार्दै निर्वाचित भइन्। कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत ल्याएर पराजित भए।
सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल तेस्रो भएकी छन्। उनले ८ हजार ७६९ मत पाएकी छन्। उक्त क्षेत्रमा ६१ हजार ६७८ मत खसेको थियो।
डा. सीके राउत सप्तरी–२
१६,९७९
सप्तरी निर्वाचन क्षेत्र नं.–२ बाट प्रतिनिधिसभामा फराकिलो मतअन्तरले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विजयी भए। सीके राउत ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भए।
सीकेले ३५,०४२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उपेन्द्र यादवले १६,९६९ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले ७,३४४ मत ल्याएर तेस्रो भएका छन्।
गत २०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस क्षेत्रमा एकपटक निर्वाचित भएका जनप्रतिनिधि पुनः दोहोरिएका छैनन्। पुनःनिर्वाचित भएर सो क्षेत्रमा नयाँ इतिहास कायम गर्ने योजनामा रहेका यादवलाई पनि यस क्षेत्रका मतदाताले छानेनन्। विसं २०४८ को राजनीतिक परिवर्तनयता भएका सात वटा निर्वाचनमा यस क्षेत्रले फरक–फरक पार्टीका फरक–फरक व्यक्तिलाई जनप्रतिनिधि चुनेको हो।
राजेन्द्र बजगाईं गोरखा–१
१६,४४३
गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–१ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं १६ हजार ६४३ मतअन्तरले विजयी भएका छन्। बजगाईंले ३३ हजार ४२८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रामशरण बस्नेतले १६ हजार ७८५ मत ल्याएर पराजित भए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ८५२ मत पाएको छ।
पूर्णबहादुर तामाङ रामेछाप
१६,३६९
रामेछाप निर्वाचन क्षेत्र नं.–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
नेकपा (एमाले) का कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतअन्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन्।
एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो। त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुंगेलले ३० हजार ७ सय ३० मत पाए।
प्रकाश ज्वाला सल्यान
१५,९१५
सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले १५ हजार ९१५ मतअन्तरमा प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराए। शाहले १९,७९२ मत पाउँदा ज्वालाले ३५,७०७ मत पाएका थिए।
त्यस्तै, एमालेका उम्मेदवार राजेन्द्र वीर रायले १३ हजार २९ मत ल्याएका छन्।
२०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका ज्वालाले २०५२ सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए। उनले पहिलो पटक २०५६ मा, दोस्रो पटक २०७० मा, तेस्रो पटक २०७४ मा जित हासिल गरेका थिए।
२०५२/०५३ मा शाहबाटै पराजित भएका ज्वालाले यसभन्दा पहिला राजेन्द्रबहादुर शाहलाई २०५६ मा पहिलो पटक पराजित गरेका थिए। अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री र केन्द्रीय मन्त्री समेत भएका नेता हुन्।





























प्रतिक्रिया