काठमाडौँ। विभिन्न खेलको कला प्रदर्शनमा २१ पटक गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । इन्टरनेशनल इन्टर्नशीप युनिभर्सिटीले हालै स्पोर्टस् साइन्स एण्ड ह्युमन पर्फमेन्समा मानार्थ विद्यावारिधि दिएको हो ।
विश्वभर केबल असाधारण नेतृत्व र प्रेरणादायी योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने सो उपाधि अन्तरराष्ट्रिय रूपमा प्रशंसित पार्कर खेलाडी, उत्कृष्ट जिम्नास्ट, स्टन्ट कलाकार र सहनशीलताको विश्व दूतका रूपमा अन्तरराष्ट्रिय ख्याति कमाएका नेपालका डा सुनारले पहिलोपटक पाएका हुन् ।
सन् २०२५ मा विश्वभरबाट उनीसहित जम्मा चार जनालाई सो सम्मान प्रदान गरिएको हो । उनी भन्छन्, “यो सम्मानले दृढ सङ्कल्प र अवसरले सफलता सम्भव हुन्छ भन्ने कुराको पुष्टि भएको छ, साथै नेपालको प्रतिष्ठालाई अन्तरराष्ट्रिय जगतमा बढाउन मद्दत पुग्नेछ ।”
नेपालको प्रतिनिधित्व गर्दै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्नास्टिक्स प्रतियोगितामा धेरैपटक स्वर्ण पदक जित्न सफल भएका छन् । अमेरिकास्थित वल्र्ड फ्रि रनिङ पार्कर फेडरेशनको प्रशिक्षक रहेका उनी सन् २०२४ देखि अमेरिकी पार्कर एम्बेसडरका रूपमा संस्कृति र महादेश जोड्दै स्वतन्त्रता, गति र आत्मअभिव्यक्तिको विचार बाँडिरहेका छन् । उनले बलिउड, कोलिउड र नेपाली चलचित्रमा ५० भन्दाबढी स्टन्ट प्रदर्शन गरिसकेका छन् । भविष्यमा नेपालमा व्यावसायिक पार्कर एकेडेमी स्थापना गर्ने योजना रहेको उनी बताउँछन् ।































प्रतिक्रिया