काठमाडौं
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुई घण्टाको कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपियाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले कार्यालय बाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो ।
उक्त कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल बुकिङ गरिएको छ । त्यस बापत भ्याट बाहेक १ लाख ८० हजार, खाजा बापत २ लाख ७५ हजार, ब्यानर⁄नारा⁄झण्डा तथा ब्रोसरका लागि २ लाख, नारा लेखिएको भेस्ट (गन्जी) बनाउन २ लाख ५० हजार र पत्रकारलाई भत्ताका लागि ७५ हजार रुपियाँ छुट्याएको छ ।
कार्यक्रमको कार्ड वितरण गर्ने कर्मचारीलाई खाजा बापत ५० हजार, कार्यक्रम व्यवस्थापनमा खटिने कर्मचारीलाई ५० हजार, वार्षिक प्रतिवेदन छपाउन १ लाख ५० हजार र भित्ते फ्लेक्स (ब्याक ड्रब) बनाउन ६० हजार र पत्रपत्रिकाका लागि १ लाख ५० हजार छुट्याएको छ । यसका साथै अतिथिका लागि खादा, माला र बुकीको २५ हजार र ब्याचका लागि ३ हजार रुपियाँ छुट्टाएको छ ।
हरेक दिन बिरामीको रोदनको सम्बोधन गर्नु पर्ने निकायले एकदिने सो दिवसका लागि अनावश्यक रकम छुट्याएकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नै विरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयका लेखा शाखाका एक कर्मचारीले क्षयरोग केन्द्रले बिरामीलाई औषधि खुवाउने र उपचारलाई सहज बनाउनु पर्ने रकम कार्यक्रममा खर्च गर्नु अस्वभाविक भएको टिप्पणी गरेका छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया