काठमाडौँ
दैनिक सडकमा गुड्ने सवारी साधन दिन प्रतिदिन थपिँदा ट्राफिक नियम पालना नगर्नेहरूको संख्यामा वृद्धि हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार देशैभरि दैनिक लगभग ९ सय मोटरसाइकल तथा स्कुटीहरू सडकमा नयाँ भित्रिने गरेका छन् ।
मोटरसाइकल र स्कुटी मात्र नभएर अन्य सवारी साधन पनि उत्तिकै थपिने हुँदा ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गइरहेको छ । सवारी साधन दैनिक जसो थपिंदा ट्राफिक नियमको पालना नगर्नेहरू पनि उत्तिकै बढ्न थालेका देखिन्छन् । ट्राफिक नियम पालना नगर्नेमा सबैभन्दा मुख्य समस्या बनेको छ– मादक पदार्थ सेवन । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १४ लाख ८ हजार भन्दा बढीलाई महाशाखाले कारबाही गरिसकेको जानकारी दिइएको छ । मापसे गरेर सवारी चलाउने चालकलाई २०६९ मंसिर २२ गते देखि कारबाही गर्न थालिएको हो ।
कारबाही प्रक्रिया दरिलो बनाउँदा पनि यस्ता विभिन्न बाहानामा नियम मिच्नेहरू सक्रिय नै रहेको महाशाखाले उल्लेख गरेको छ । त्यसका लागि अब नयाँ प्रविधिहरू नेपाल भित्र्याउने र प्रविधिको सहायताले कारबाही गर्ने तयारी महाशाखाले गरिरहेको जानकारी दिइएको छ । नो हर्न, लेन मिच्ने, जथाभावी पार्किङलाई पनि महाशाखाले उत्तिकै कारबाही गर्ने गरेको भएपनि सवारी साधन थपिदा यसको व्यवस्थापनमा समस्या आएको देखिन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनी भन्छन्— ‘दैनिक सवारी साधन थपिएको थपिएकै हुन्छन् तर मानिसमा चेतनाको कमी त छँदै छ, त्यस माथि ट्राफिक जनशक्ति पनि कमी हुँदा व्यवस्थापनमा समस्या आएको छ ।’ चालु आर्थिक वर्षको कात्तिक सम्ममा देशभरका यातायात कार्यालयमा मात्र १ लाख ७७ हजार ६३० वटा मोटरसाइकल र स्कुटी दर्ता भएको महाशाखाले जानकारी दिएको छ । ठूला बस र हेभी सवारी साधन थपिनेमा केही कमी आए पनि निजी सवारी साधन भने दिन प्रतिदिन थपिँदै गइरहेका देखिन्छन् ।
हिमालय टाइम्सबाट































प्रतिक्रिया