काठमाडौं
खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन् । प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो । तर ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन् । सरकारी आदेश नमान्ने कर्मचारी काठमाडौंका आकर्षक कार्यालयमा लामो समय देखि काम गर्दै आएका धेरै छन् । नापी, मालपोत र राजस्व कार्यालय, वैदेशिक रोजगार विभाग लगायत कार्यालयमा काम गर्ने कर्मचारी प्रदेशमा गएर काम गर्न अटेरी गरिरहेका छन् ।
खटाएको कार्यालयमा २४ घन्टा भित्र पुगेर काम सम्हाल्न सरकारले निर्देशन दिएको थियो । तर ती कर्मचारीले सुरुमा त रमाना लिनै मानेनन् । बल्लतल्ल रमाना लिए पनि प्रदेशमा हाजिर हुन अटेर गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनायो । गत ३ माघमा प्रदेश प्रमुख नियुक्त भएसँगै सरकारले प्रदेश कार्यालय स्थापना गर्न कर्मचारी खटाउन थालेको थियो । त्यसपछि एक महिनामा मन्त्रालयले मात्र १ हजार ६८ जना विभिन्न तहका कर्मचारीलाई प्रदेशमा खटाइसकेको छ । तर प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले लगातार ताकेता गर्दा समेत खटाएका मध्ये ३० प्रतिशत कर्मचारी हाजिर भएका छैनन् ।
यसै वीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई सेवा बाटै हटाउने चेतावनी दिएका छन् । उनले भने, ‘कर्मचारीले कि जागिर खान्छन्, कि सेवाबाट बाहिर जान्छन् ।’ उनले खराब कर्मचारी प्रति आफूमा कहिले पनि दयामाया नआएको बताए । मन्त्री पण्डितले भने, ‘मलाई खराब कर्मचारीको कहिल्यै माया लाग्दैन ।’ उनले आइतबार (आज) कर्मचारी सरुवा भएको कति दिन भयो हेर्ने र साबिकको कार्यालयमा हाजिर बन्द गरिदिने बताएका छन् । मन्त्री पण्डितले ऐनमा भएका छिद्र देखाएर नबस्न पनि कर्मचारीलाई चेतावनी दिएका छन् । उनले आवश्यक परे फास्टट्र्याकबाट ऐन संशोधन गरेर भए पनि खराब कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया