नेकपाबाट स्याङ्जा–१ मा शैलेन्द्र घिमिरे उम्मेदवार, को हुन् जनयुद्धका लडाकु घिमिरे?

नेकपाबाट स्याङ्जा–१ मा शैलेन्द्र घिमिरे उम्मेदवार, को हुन् जनयुद्धका लडाकु घिमिरे?

केन्द्रबिन्दु
1.13k
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्याङ्जा जिल्लाका दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीले स्याङ्जा क्षेत्र नम्बर १ बाट शैलेन्द्र घिमिरे र क्षेत्र नम्बर २ बाट पदम बिकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

स्याङ्जा–१ बाट उम्मेदवार बनेका शैलेन्द्र घिमिरेलाई पार्टीभित्र संघर्षशील, अनुशासित र वैचारिक दृढ युवा नेताका रूपमा चिनिन्छ ।

को हुन् शैलेन्द्र घिमिरे?

घिमिरेको राजनीतिक यात्रा नेकपा एमालेबाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट हुर्किएका उनी पछि माओवादी आन्दोलनमा सक्रिय हुँदै जनयुद्धका लडाकु बने। सशस्त्र द्वन्द्वका क्रममा गोली लागेर घाइते हुँदा समेत परिवर्तनको बाटोबाट पछि नहटेका घिमिरेलाई त्याग र प्रतिबद्धताको प्रतीकका रूपमा लिने गरिन्छ ।

देश र जनताका लागि ज्यानको जोखिम मोलेर संघर्ष गरेका घिमिरेले संगठन निर्माण, निर्वाचन व्यवस्थापन र भूमिगत राजनीतिमा लामो अनुभव बटुलेका छन्। यही पृष्ठभूमिका कारण नेकपाले उनलाई स्याङ्जा–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो।

शैलेन्द्र घिमिरेको राजनीतिक जीवन विद्यार्थी आन्दोलनबाट सुरु भई सशस्त्र संघर्ष, संगठन निर्माण र निर्वाचन व्यवस्थापन हुँदै केन्द्रिय नेतृत्वसम्म पुगेको छ। तीन दशकभन्दा लामो समयदेखि वाम राजनीतिमा सक्रिय घिमिरेले विभिन्न जिम्मेवारीमार्फत पार्टी र आन्दोलनलाई नेतृत्व दिएका छन्।

घिमिरेले २०४७ सालमा नेकपा एमालेको पार्टी सदस्यका रूपमा औपचारिक राजनीतिक यात्रा सुरु गरे। विद्यार्थी राजनीतिमा प्रभाव जमाएका उनी २०५१ सालमा पाटन क्याम्पस अनेरास्ववियु अध्यक्ष बने। त्यसपछि २०५४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यका रूपमा संगठन विस्तारमा सक्रिय रहे।

माओवादी आन्दोलनमा प्रवेश गरेपछि घिमिरेले २०५७ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी सम्हाले। भूमिगत राजनीतिको कठिन समयमा उनले २०६० सालमा रेडियो जनगणना (डोके रेडियो) को कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा जनस्तरसँग आन्दोलन जोड्ने काम गरे।

संगठनात्मक जिम्मेवारी थपिँदै जाँदा उनी २०६१ सालमा कास्की जिल्ला सचिवालय सदस्य बने भने २०६२ सालमा कास्कीको उत्तर–पश्चिम कमाण्डरको भूमिकामा रहेर आन्दोलनको नेतृत्व गरे। त्यसपछि २०६३ सालमा भक्तपुर सह–सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै संगठन मजबुत पार्ने कार्यमा सक्रिय भए।

शान्ति प्रक्रियापछिको राजनीतिमा पनि घिमिरे अग्रपंक्तिमै रहे। उनले २०६४ सालमा भक्तपुर–२ निर्वाचन परिचालन समिति संयोजकका रूपमा चुनावी अभियानको नेतृत्व गरे। २०७० सालमा स्याङ्जा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यको उम्मेदवार बनेर जनतासामु प्रस्तुत भए।

पछिल्ला निर्वाचनहरूमा उनी रणनीतिक भूमिकामा देखिए। २०७४ सालमा संयुक्त वाम गठबन्धनको निर्वाचन परिचालन समिति सह–संयोजकका रूपमा काम गरेका घिमिरे २०७३ सालदेखि माओवादी केन्द्रको स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहँदै आएका छन्।

हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यका रूपमा पार्टी नीति, संगठन र चुनावी रणनीतिमा सक्रिय छन्।

Logo