प्रलोपाको बन्दसूचीमा रास्वपा छाडेका सन्तोष परियार पहिलो नम्बरमा

प्रलोपाको बन्दसूचीमा रास्वपा छाडेका सन्तोष परियार पहिलो नम्बरमा

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्रको दलित प्रतिनिधित्वलाई अगाडि सारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार प्रलोपाबाट दलित क्लस्टरअन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा परेका छन्। निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूची पेश गरेका ६३ दलका ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्दा परियारको नाम सूचीको शीर्ष स्थानमा देखिएको हो।

परियार रास्वपाका तत्कालीन केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक रहिसकेका नेता हुन्। हाल उनी प्रलोपाको अध्यक्ष परिषद्का सदस्य छन्। परियार यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको बन्दसूचीबाट दलिततर्फ पहिलो नम्बरमै परेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

दलित महिलातर्फ दुर्गा सोब पहिलो नम्बरमा

प्रलोपाकै अध्यक्ष परिषद्की सदस्य दुर्गा सोब पनि दलित महिलातर्फ पहिलो नम्बरमा परेकी छन्। उनी दलित महिला संघ (फेडो) की संस्थापक अध्यक्ष तथा राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य–सचिव हुन्।

सोबको राजनीतिक यात्रा माओवादी आन्दोलनबाट सुरु भएको हो। डा. बाबुराम भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति निर्माण गर्दा उनी पनि भट्टराईसँगै माओवादीबाट बाहिरिएकी थिइन्। त्यसपछि प्रलोपा गठन हुनुअघि उनी नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी कार्यवाहक अध्यक्ष तथा बाबुराम भट्टराई अध्यक्ष हुँदा उपाध्यक्षको जिम्मेवारीमा थिइन्।

Logo