ललितपुर
भाडाको विषयलाई लिएर सशस्त्र प्रहरी बल तथा रेडियो नेपाल बीच मनमुटाव भएको छ । ललितपुर महानगरपालिको खुमलटार–१५ स्थित रेडियो नेपालको जग्गा सशस्त्र प्रहरी बलको दक्षिणकाली गणले ०६९ साल असार देखि भाडामा लिए पनि पाँच वर्ष यताको करोडौं रुपैयाँ बराबर भाडा दिन आनाकानी भइरहेको हो ।
रेडियो नेपालका सूचना अधिकारी बुद्धि बहादुर केसीले पाँच वर्ष देखिको भाडा नपाएको बताए । गणले २५ रोपनी जग्गा भाडामा लिएको छ । केसीका अनुसार दुई निकाय बीच प्रतिरोपनी जग्गाको भाडा मासिक २३ हजार सात सय ५० रुपैयाँ दिने र वार्षिक १० प्रतिशतका दरले भाडा वृद्धि हुने सम्झौता भएको थियो । यद्यपि हाल सम्म कुनै पनि रकम उपलब्ध नभएको उनको भनार्इ छ ।
‘सम्झौता गरेको भन्दा सशस्त्रले थप २० रोपनी बढी जग्गा उपभोग गरिरहेको छ,’ उनले भने । सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेले भाडा सम्झौताको कागजात नै आफूले नभेटेको प्रतिक्रिया दिए । नेपाल सरकारको नामको जग्गामा रेडियो नेपाल मोही मात्रै भएको जानकारी आफूलाई प्राप्त भएको प्रवक्ता पाण्डेले बताए ।
सरकारको एउटा निकायले अर्कोलाई भाडा तिर्न नमिल्ने तर्क गर्दै उनले भाडा रकमका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा नभएको बताए । सशस्त्रले उपभोग गरिरहेको जग्गा आफ्नो स्वामित्वमा हस्तान्तरण गर्न पत्राचार गरिएको जानकारी पनि पाण्डेले दिए । सशस्त्रले ४५ रोपनी जग्गा आफ्नो नाममा बनाउन खोजेको पनि बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया