बागलुङ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त बाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
उनले उम्मेदवारी दर्ता गर्दा कार्यकर्ता, शुभेच्छुक र स्थानीय जनताको ठूलो उपस्थितिमा आफ्ना विचार राख्दै सो क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगार सिर्जना लगायतका मुद्दामा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । गैरेले भने, “म बागलुङ क्षेत्र नं २ का जनताको माया र सद्भाव सदैव स्मरण गर्दै आएको छु। यसपटक जनताको विश्वासले तारा चिन्हमा जित दिलाउनेछ । हाम्रो अभियान केवल जितका लागि नभएर यस क्षेत्रलाई सशक्त, समृद्ध र शिक्षित बनाउने अभियान हो। जनता नै इतिहासका निर्माता हुन् र जनताको निर्णय अन्तिम निर्णय हो।”
उक्त उम्मेदवारीसँगै बागलुङमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच औपचारिक चुनावी सहकार्य पनि तय भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई नेकपाले सघाउने, र क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरे (अनिल)लाई जनमोर्चाले समर्थन गर्ने गरी तालमेल गरिएको हो।
सहमति पत्रमा नेकपाका तर्फबाट नेता गणेशमान पुन र जनमोर्चाका तर्फबाट सचिव घनश्याम न्यौपानेले हस्ताक्षर गरेका छन्। यस तालमेलअनुसार क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार कृष्णबहादुर केसीले आफ्नो नाम फिर्ता लिएर जनमोर्चालाई सघाएका छन् भने क्षेत्र नम्बर २ मा जनमोर्चाका उम्मेदवार भीमलाल पोखरेल पछि हटेका छन्।
क्षेत्र नम्बर १ मा पूर्व निर्वाचनमा जनमोर्चाका नेता चित्रबहादुर केसी विजयी भएका थिए भने क्षेत्र नम्बर २ बाट नेकपाका देवेन्द्र पौडेल विजयी भएका थिए । यसपटक दुई पार्टीको तालमेलले दुबै क्षेत्रमा जित सुनिश्चित गर्ने योजना बनाएको नेताहरूले बताएका छन्।
बाम एमतासंगै यहाँका जनतामा उत्साह थप गरेको नेकपाका एक नेताले केन्द्रविन्दुलाई बताए ।





























प्रतिक्रिया