काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दर्ता भएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो। तर बागमती प्रदेशको सिन्धुली–२, कोशी प्रदेशको उदयपुर–२, लुम्बिनी प्रदेशको दाङ–१ र कर्णाली प्रदेशको कालिकोट–१ मा बागी उम्मेदवारी परेको हो।
सिन्धुली–२
सिन्धुली–२ मा पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका छन्। बागी उम्मेदवार दाहालको पक्षमा साबिक माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वइन्चार्ज हरिबोल गजुरेल उभिएपछि राजनीतिक तरङ्ग उत्पन्न भएको छ।
२०७९ सालमा पनि उम्मेदवार बन्न चाहेका गजुरेल अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट बनेका थिए। यसपटक पनि लेखनाथ दाहाल नै दोहोरिएपछि उनले महेश्वर दाहाललाई समर्थन गरेका हुन्। सिन्धुली–२ माओवादीको परम्परागत जित्ने क्षेत्र मानिन्छ। २०६४, २०७० र २०७४ मा गजुरेल स्वयं निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार लेखनाथ दाहाल विजयी भएका थिए।
दाहालको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल भइरहेको नेता सरल सहयात्री पौडेलले बताए। उनका अनुसार उम्मेदवारी फिर्ता नभए कारबाही हुने चेतावनी दिइएको छ।
दाङ–१
दाङ–१ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दर्ता गराएपछि विवाद चुलिएको छ। अघिल्लो निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाट उम्मेदवार बनेका चौधरी विजयी भएका थिए।
माओवादी र एकीकृत समाजवादी एक भएर नेकपा बनेपछि पार्टीले चौधरीलाई उम्मेदवार बनाएको हो। टिकट वितरणप्रति असन्तुष्ट केसीले पार्टी छोडेको घोषणा गर्दै बागी उम्मेदवारी दिएका छन्। यसअघि चौधरी र केसीमध्ये कसलाई टिकट दिने भन्ने विषयमा पार्टीभित्र तीव्र रस्साकस्सी भएको थियो।
नेता सुदर्शन बरालले केसीले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे। उनका अनुसार उम्मेदवारी फिर्ताका लागि संवाद भइरहेको छ।
कालिकोट–१
कर्णाली प्रदेशको कालिकोट–१ मा पनि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ। पार्टीले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। टिकट नपाएपछि जीवन बुढाले बागी उम्मेदवारी दिएका हुन्।
साबिक माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बुढाले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे। यसै क्षेत्रमा नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि उम्मेदवारी दिएका छन्। २०६४ मा सोही क्षेत्रबाट निर्वाचित विश्वकर्माले २०७० पछि निर्वाचन बहिष्कार गर्दै आएका थिए। पार्टी निर्णयअनुसार यसपटक उनी निर्वाचनमा सहभागी भएका हुन्।
उदयपुर–२
उदयपुर–२ मा नेकपाका आधिकारिक उम्मेदवार सुरेश कुमार राईविरुद्ध मेजर राईले बागी उम्मेदवारी दिएका छन्। नेता हर्कबहादुर नेम्वाङका अनुसार यहाँ पनि उम्मेदवारी फिर्ताका लागि प्रयास भइरहेको छ।
पार्टीका नेताहरूका अनुसार मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि बागी उम्मेदवारी परेको छैन।





























प्रतिक्रिया