काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जना उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारीअनुसार ५ वटा उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
भक्तपुर २ मा २ जना उम्मेदवारविरूद्ध, सुनसरी २ मा १ जनाविरूद्ध, रौतहट १ मा १ जनाविरूद्ध र कैलाली १ मा १ जनाविरूद्ध उजुरी परेको छ । भक्तपुरमा उम्मेदवारहरू राजिव खत्री र जानुका पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधव नेपाल, कैलालीमा रेशम चौधरीविरूद्ध उजुरी परेको छ।
सुनसरी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवारी दर्ता गराएका लाल विक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । स्थानीय सत्य नारायण पण्डितले थापाविरुद्ध दाबी विरोध गर्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् । उजुरीमा थापाले विद्यालयको लाखौँ रकम बक्यौता राखेको र सो रकम राफसाफ नगरेको दाबी गरिएको छ ।
यसैगरी रौतहटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । नेपालले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार भएको नेपालको उम्मेदवारीविरुद्ध बुधबार उजुरी परेको हो ।
निर्वाचन आयोग स्रोतले नेपालविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले नेपालको उम्मेदवारी खारेजको मागसहित उजुरी दिएका हुन्। पतञ्जलि जग्गा प्रकरणमा मुछिएका नेपाल उम्मेदवार बन्न अयोग्य रहेको उजुरीमा उल्लेख छ।
त्यस्तै, कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ ।
रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको हो । खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेको र पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नविन कुमार महतले उजुरी दिएका छन् ।































प्रतिक्रिया