काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाण्डौ आएको यूएस.बंगलाको हवाइ जहाज त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज एक शोक वक्तव्य जारी गरेर दुर्घटनामा मृत्यू भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । वक्तव्यमा प्रधानमन्त्री ओलीले ठुलो मानवीय क्षति हुने गरी भएको यस अकल्पनीय दुर्घटना तथा हृदय विदारक दुर्घटनामा ज्यान गुमाएका नेपाली तथा बंगलादेशी लगायत सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले वक्तव्यमा भन्नु भएको छ ‘यस त्रासदीपूर्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गरेको छ । यस प्रकृतिका घटना दोहोरिन नदिने उपाय खोजिनेछ ।’प्रधानमन्त्री ओलीले वक्तव्यमा उद्धारमा परिचालन भएका नेपाली सेना लगायत सबै सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, नागरिक उड्ययन , राष्ट्र सेवक कर्मचारी, घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिनुभएको छ ।
घटनाको जानकारी पाउने वित्तिकै प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिनु भएको छ । उहाँले सरोकारवालाहरु लाई घाइतेको उद्धार तथा उपचारमा कुनै कमी आउन नदिन निर्देशन पनि दिनु भएको छ । प्रधानमन्त्री ओलीले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार गराइरहेका दुर्घटनाका घाइतेको स्वास्थ्य स्थिती जानकारी लिनुका साथै आफन्तहरुलाई शान्तवना दिनु भएको छ । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै कसर बाँँकी नराख्न निर्देशन दिनु भएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेजलाई टेलिफोन सम्पर्क गरी जहाज र्दुघटना प्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधामन्त्री ओलीले दुर्घटनाबाट भएको मानवीय र भौतिक क्षतीप्रति आफू दुःखी भएको बताउनु भएको छ ।





























प्रतिक्रिया