ब्राइट बचत तथा ऋण सहकारीले मनायाे २६औं वार्षिकोत्सव

ब्राइट बचत तथा ऋण सहकारीले मनायाे २६औं वार्षिकोत्सव

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २६औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ ।

विगत साढे दुई दशकदेखि सहकारीको मूल्य-मान्यतामा रही सदस्यहरूलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्थाले शनिबार विशेष समारोहका बीच प्रगति विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेले २६ वर्षे गौरवमय यात्राको मुख्य श्रेय शेयर सदस्यहरूको अटुट विश्वास र कर्मचारीहरूको मेहनतलाई दिए । सहकारी क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूका बीच पनि संस्था सुरक्षित र सुदृढ रहनु नै ठूलो उपलब्धि भएको उनले बताए ।

अध्यक्ष न्यौपानेले भने, “सहकारी क्षेत्रमा देखिएको संकटग्रस्त अवस्थामा पनि हामी कतै नडगमगाइकन सदस्यहरूको सेवामा समर्पित रह्यौं । तपाईंहरूको मायाले गर्दा ब्राइटमा कहिल्यै समस्या पर्ला कि भन्ने चिन्ता रहेन । हामीले सदस्यहरूलाई ‘आज पैसा छैन’ भन्ने अवस्था कहिल्यै आउन दिएनौं ।”

अध्यक्ष न्यौपानेले पेश गरेकाे वित्तीय अवस्था र प्रगति विवरणअनुसार हाल संस्थामा २७ प्रतिशत (करिब १३ करोड ३ लाख रुपैयाँ) तरलता मौज्दात छ, जुन सहकारी मापदण्ड भन्दा निकै उत्साहजनक हो ।

यसैगरी संस्थाको शेयर पूँजी ७ करोड ७६ लाख २६ हजार पुगेको छ । कुल बचत ४७ करोड ९५ लाख रहेको छ भने ५४ करोड ९० लाख ऋण लगानीमा रहेको छ ।साथै संस्थाको जगेडा तथा अन्य कोषहरूमा १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।

यस्तै, संस्थाले यस वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरूलाई थप प्रतिफल दिने घोषणा गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

ब्राइट सहकारीले सदस्यहरूलाई घरमै बसेर सेवा लिन सहज होस् भनी मोबाइल बैंकिङ (स्मार्ट बैंकिङ) र एसएमएस सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । संस्थाले आफ्नो लेखा परीक्षण नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डपद्धति अनुसार गराउँदै आएको र प्रत्येक महिनाको प्रगति विवरण फेसबुक पेजमार्फत पारदर्शी रूपमा सार्वजनिक गर्ने गरेको जानकारी दिएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष सावित्री देवी स्मृति प्रतिष्ठानसँग मिलेर विभिन्न सामाजिक कार्यहरू गर्ने प्रस्ताव अघि सारेको छ । साथै, संस्थाले प्रत्यक्ष र अप्रत्यक्ष गरी वार्षिक करिब २ करोड रुपैयाँ राज्यलाई कर बुझाएर अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

आगामी दिनमा ब्याजदरलाई समयसापेक्ष परिमार्जन गर्दै (निक्षेपमा अधिकतम १० प्रतिशत र ऋणमा न्यूनतम १२ प्रतिशत) सदस्यमुखी कार्यक्रमहरू ल्याउने लक्ष्य संस्थाले लिएको छ । अध्यक्ष न्यौपानेले सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न र उत्पादनमूलक क्षेत्रमा ऋण परिचालन गर्न आह्वान गरेका छन् ।

Skip This
Skip This
Logo