पर्वत । पर्वतमा प्रतिनिधि सभाका लागि चुनावी मैदानमा उत्रिएका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले माघ १३ गतेदेखि आफ्नो चुनावी अभियान (घरदैलो यात्रा) सुरु गर्ने घोषणा गरेका छन्। जेन जीहरुको आग्रहमा चुनावी टिकट लिएका वौद्धिक,शालिन एवं वैचारिक युवा नेताले परिचित तिमिल्सिनाले यस अभियानलाई राजनीतिक औपचारिकता नभइ जनतासंग संवाद र प्रत्यक्ष अनुभवबाट सिक्ने अवसरको रूपमा लिने बताएका छन् ।
उम्मेदवार तिमिल्सिनाले आफ्नो अभियानका उद्देश्य स्पष्ट गर्दै सामाजिक सञ्जाल मार्फत भनेका छन् , “म तपाईंहरूको जीवनअनुभव, चिन्ता र अपेक्षाबाट आफ्नो बुझाइ परिपक्व बनाउने विश्वासका साथ प्रत्येक घर र आँगन–आँगन आउँदैछु, यस अभियानमा मलाई प्रशंसा होइन, हृदयदेखि निस्केका सुझाव र इमानदार आलोचना दिनुहोला ।”
उनले आफ्नो चुनावी अभियान कुनै दलविशेषमा सीमित नहुने, सबै दलका अग्रज नेता, सहकर्मी र नवपुस्तासँग समान आदरका साथ अन्तरक्रिया गर्ने अवसरको रुपमा लिने भन्दै यसलाई ‘जनशिक्षा अभियान’ को रूपमा अगाडी बढाउने बताएका छन् ।
“जहाँ म बोल्नेभन्दा बढी सुन्ने प्रयास गर्नेछु । तपाईंका आलोचनात्मक विचार, सुझाव र प्रश्नहरू मेरो लागि अमूल्य सम्पत्ति बन्न सक्छन्।” तिमिल्सिनाले भने ।
तिमिल्सिनाले मतदाता तथा स्थानीयहरूसँगको संवादमार्फत समुन्नत, न्यायपूर्ण र समावेशी पर्वत निर्माणमा सहकार्य, समभाव र ऐक्यबद्धताको संस्कृति प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सबैलाई खुला विमर्श र सचेत खबरदारीमा सहभागी हुन समेत आग्रह गरेका छन्। उनले उम्मेदवारहरुविच खुल्ला मञ्चमा विकासका योजना र एजेण्डा विषयक संवाद आवश्यक रहेको औँल्याएका छन् ।
आगामी निर्वाचनमा उम्मेदवार तिमिल्सिनाको घरदैलो अभियानले स्थानीय जनता र मतदातासँग प्रत्यक्ष सम्पर्कको नयाँ ढोका खोल्ने नेकपा पर्वतले जनाएको छ ।





























प्रतिक्रिया