गलेश्वर। म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरी मत माग्न गाउँ–गाउँ पुग्न थालेसँगै निर्वाचनको माहोल बन्दै गएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विशेषगरी पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन्। जेनजी आन्दोलनपछि आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने अपेक्षाले उनीहरूमा उत्साह थपिएको हो।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गराएकामा १२ जनाको उम्मेदवारी कायम छ। उम्मेदवार र दलका नेताहरू घरदैलो, भेला तथा छलफलमार्फत मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्।
बेनी नगरपालिका–२ का निकेश सापकोटा पहिलोपटक मतदान गर्न लागेका छन्। व्यक्तिगत छविमा कुनै दाग नलागेका, देश विकासका स्पष्ट योजना भएका र युवाको मनोभावना तथा देशको आवश्यकता बुझेर इमानदारीपूर्वक काम गर्ने उम्मेदवारलाई मतदान गर्ने उनी बताउँछन्। “म पहिलोपटक मतदान गर्न लागेको छु। देश र जनताको भावना बुझेर काम गर्न सक्ने योग्य र इमानदार उम्मेदवारलाई भोट हाल्छु,” सापकोटाले भने। पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको उनले बताए।
यस्तै, बेनी नगरपालिका–७ की २१ वर्षीया सङ्गीता विक उम्मेदवारका एजेन्डा र विचार सुनेर मात्र मत दिने निर्णय गर्ने बताउँछिन्। “सक्षम नेतृत्व छनोट गर्न नसक्दा दुःख जनतालाई नै हुन्छ भन्ने कुरा विगतले देखाइसकेको छ,” उनले भनिन्, “त्यसैले राम्रो र सक्षम नेतृत्वलाई मत दिनुपर्छ।” उनी पनि पहिलोपटक मतदान गर्दैछिन् र जेनजी आन्दोलनमा सक्रिय सहभागी थिइन्।
मङ्गला गाउँपालिका–४ का दीपेश बुढा पनि यस पटक पहिलोपटक मतदान गर्दैछन्। युवा आन्दोलनपछि देशको विकासको आशा पलाएको बताउँदै उनले पार्टीभन्दा व्यक्ति हेरेर मतदान गर्ने सोच बनाएको बताए।
“म्याग्दीको निर्वाचन अहिले चर्चामा छ। नयाँ दल र नयाँ व्यक्ति मैदानमा छन्,” उनले भने।
रघुगङ्गा गाउँपालिकाका सङ्गम पुन पनि पहिलोपटक मतदानको तयारीमा छन्। उम्मेदवारबारे अध्ययन गर्दै युवा पुस्ताका लागि सोच्ने नेतृत्वलाई मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उनले बताए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता छन्। तीमध्ये महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन्। एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा निर्वाचनका लागि ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ।
कार्यालयका अनुसार अधिकांश मतदाता युवा छन्, जसमा यसपटक पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको संख्या उल्लेख्य छ। शनिबारसम्म ६६ मतदानस्थलको अनुगमन सम्पन्न भइसकेको र निर्वाचनको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढिरहेको कार्यालयले जनाएको छ।































प्रतिक्रिया