काठमाडौँ
गृह मन्त्रालयले सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृहले हाल दिइँदै आएको बिदामा २१ दिन कटौती गर्न प्रस्ताव गरेको हो । सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिन सम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्ष देखि ८४ दिन मात्रै बिदा दिने गरी सरकार समक्ष प्रस्ताव लैजाने तयारी गरेको छ ।
सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्ता सुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासा अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो । गृह मन्त्रालय आन्तरिक व्यवस्थापन शाखाका प्रमुख उपसचिव यदुनाथ पौडेलले हालको बिदामा पुनर्विचार गर्न जरुरी देखिएकाले सोही अनुसार गृहकार्य गरिएको बताए । ‘बिदा धेरै भएकाले सार्वजनिक सेवा प्रवाह कमजोर हुन पुगेको गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न बिदा कटौती सम्बन्धमा छलफल थालेका हौं’, उपसचिव पौडेलले भने ।
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बिदा धेरै हुँदा विकास निर्माण र सेवा प्रवाहका कार्य प्रभावकारी हुन नसकेकाले बिदा कटौती अत्यावश्यक रहेको बताए । मन्त्री पण्डितले सिंगापुरमा वर्षमा ८ दिन मात्रै सार्वजनिक बिदा हुने गरेको सन्दर्भ उल्लेख गर्दै बढी बिदा दिनु सरकारीस्तरमा काम चोर संस्कृति मौलाउनु भएको दाबी गरे । हाल एक वर्षमा ५२ दिन शनिबारको बिदा हुँदै आएको छ भने बाँकी ५३ दिन विभिन्न चाड तथा दिवसको अवसरमा बिदा हुने गरेको छ । अब भने गृहले चाडबाड र दिवसका अवसरमा दिँदै आएको ५३ दिनको सार्वजनिक बिदालाई घटाएर ३२ दिनमा सीमित गर्ने प्रस्ताव गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया