दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास दिलाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्रमा पुगेका छन्। मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुने आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारले के–कस्ता एजेन्डा लिएर आएका छन् र कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा मतदाता आ–आफ्नो अनुमान लगाइरहेका छन्।

अघिल्ला निर्वाचनको तुलनामा यसपटक पुराना दल र नयाँ दल, पुराना उम्मेदवार र नयाँ उम्मेदवारका विषयमा सहर र गाउँमा मात्र नभई चोक र चिया पसलमा समेत चर्चा भइरहेको छ। कसिलो बन्दै गएको निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाइएको छ। विगतमा आमसभाबाट प्रस्तुत हुने एजेन्डा र विषयवस्तु अहिले सामाजिक सञ्जाल मार्फत प्रस्तुत भइरहेको छ ।

उम्मेदवारहरूले भौतिक रूपमा सम्भव नभएको अवस्थामा सामाजिक सञ्जाललाई मुख्य चुनाव प्रचारको माध्यम बनाएका छन्। औपचारिक रूपमा फागुन ३ देखि १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ ।

सिन्धुपाल्चोक–२ का उम्मेदवार माधव सापकोटा मतदातालाई कसरी खुसी पार्ने र विधायिकाको भूमिका बुझाउने प्रयासमा रहेको बताउँछन्। उनले भने, “सहरी क्षेत्रका मतदाता परिवर्तन र सुशासनमा केन्द्रित छन् भने ग्रामीण क्षेत्रमा पूर्वाधार र विकास निर्माणमा जोड छ। कानुन निर्माणमा कम चासो छ।” नयाँ पुस्ताले समृद्ध मुलुकसँग तुलना गरेर प्रश्न गर्छन्, त्यसैले त्यसलाई सम्बोधन गर्नुपर्छ। सो क्षेत्रमा स्वतन्त्र र दलका गरी १० जना उम्मेदवार छन्।

मकवानपुर–२ का उम्मेदवार महेश बर्तौलाले पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधि ३२ महिना नपुग्दै पुनः निर्वाचनमा फर्कनुको कारणमा मतदाताले जिज्ञासा राख्ने बताए । उनले भने, “सांसदलाई कानुन निर्माता भन्दा विकासको अगुवाको रूपमा हेर्ने मतदाताको भावना छ। नवपुस्तालाई राष्ट्रिय मामिला, स्वाधीनता र भौगोलिक अखण्डतामा बढी चासो छ ।”

धनुषा–३ का उम्मेदवार मनिष झाले निर्वाचनप्रतिको उत्साह र परिवर्तनको माहोल राम्रो देखिएको बताए। उनले भने, “मधेसले कार्यकारी भूमिकामा आफ्ना पुत्र पठाउनुपर्छ भन्ने जनबुझाइ छ। सडक, सार्वजनिक यातायात र सेवा प्रवाहको गुणस्तर सुधार्नुपर्ने जनताको माग छ ।”

रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमिल्सिनाले मतदाताले बारम्बार चुनाव गर्दा विकास बजेट प्रभावित भएको चासो व्यक्त गरेको बताए। उनले भने, “शिक्षा, स्वास्थ्य, खानेपानी, आवास जिल्लाका मुख्य प्राथमिकता हुन्। नयाँ नेतृत्व र नयाँ एजेन्डा लिएर कांग्रेस अघि बढेको छ ।”

सल्यान–१ का उम्मेदवार अनिशा नेपालीले गाउँमा मतदाता भेटघाट गर्दै भौतिक पूर्वाधार र जनजीविका सम्बन्धी माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मतदाता सक्रिय छन्, उम्मेदवारको केवल पार्टी मात्र नभई एजेन्डा र डेलिभरी क्षमता निर्णायक बनेको छ ।

Skip This
Skip This
Logo