रसुवा | ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा सीजी मोटर्स प्रालि सम्मानित भएको छ । रसुवा भन्सार कार्यालयले भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रूपमा राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप कदर-पत्र प्रदान गरी सीजी मोटर्सलाई सम्मानित गरेको हो ।
विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा: सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सारलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा सीजी मोटर्स प्रालिलाई भन्सार ऐन-नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवर्द्धनमा योगदान, जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ ।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (CEO) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यस भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै आभार प्रकट गरे । आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने उनले बताए ।
सीजी मोटर्स प्रालि चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो, जसले नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरू बिक्री-वितरण गर्दै आइरहेको छ । नेपालमा सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनहरूको बिक्री-वितरण गर्दै सीजी मोटर्सले निरन्तर रूपमा नयाँ आयाम स्थापित गर्दै आएको छ ।































प्रतिक्रिया