लकडाउनसँगै बन्द रहेको चिडियाखाना स्वास्थ्य मापदण्ड बनाएर खोल्ने तयारी

लकडाउनसँगै बन्द रहेको चिडियाखाना स्वास्थ्य मापदण्ड बनाएर खोल्ने तयारी

केन्द्रबिन्दु
0
Shares

जावलाखेल।

गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरि खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, “कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ ,त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ ।” मास्क अनिवार्य ल्याउनु पर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउने जस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापलण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु, चितुवा, रेड पाण्डा रहेका छन् ।

ती प्रजाति मध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तु मध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । अवलोकनका लागि विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरेको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

व्यवस्थापन गर्न समस्या

अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जीव जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ । कोरोनाका कारण बन्द हुनु अघि ८० कर्मचारी कार्यरत थिए । अहिले व्यवस्थापन गर्नै समस्या भए पनि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ ।

उद्धार केन्द्र अभाव

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जङ्गली जनावरले समय समयमा मानवबस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानवबस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमा नै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तीनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानिमा राख्नु पर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ ।

“प्रत्येक वर्ष १० /१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएका जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नु पर्छ तर स्थान अभाव छ,” प्रमुख व्यवस्थापक डा पोखरेलले भने ।

थपियो डाँफे

विगत आठ वर्षपछि चिडियाखानामा एक जोडी डाँफे थपिएको छ । जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षण कक्षमा राखिएको छ । अन्य जीव जनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रुपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।रासस

Skip This
Skip This
Logo