काठमाण्डौँ उपत्यका लगायत अधिकांश ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौँ उपत्यका लगायत अधिकांश ठाउँमा पानी पर्ने अनुमान

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिम नेपालबाट सक्रिय भएको वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गण्डकी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहान गण्डकीदेखि पश्चिमका केही स्थानमा वर्षा भइसकेको छ भने प्रणाली पूर्वतर्फ सर्दै जाँदा दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण बदलीको अवस्था रहनेछ । पहाडी र तराईका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । यसले चिसो बढाउनुका साथै पहाडी सडक र हिमाली क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिएको छ ।

वाग्मती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोसी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा दिउँसो २–३ बजेपछि हल्का वर्षा सुरु हुन सक्ने र राति १–२ बजेसम्म छिटपुट वर्षा जारी रहने अनुमान गरिएको छ ।

राति पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

विभागका अनुसार आज राति १–२ बजेसम्म वर्षा गराउने प्रणाली सक्रिय रहनेछ । त्यसपछि प्रणाली क्रमशः कमजोर हुँदै जाने र भोलि (बिहीबार) देशका अधिकांश भूभागमा मौसम खुल्ने अनुमान गरिएको छ । मौसममा अचानक परिवर्तन हुनसक्ने भएकाले यात्रु, किसान र हिमाली क्षेत्रमा आवतजावत गर्नेहरूलाई सतर्क रहन विभागले सुझाव दिएको छ ।

Skip This
Skip This
Logo