प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

केन्द्रबिन्दु
15
Shares

खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताले उम्मेदवारी दर्ता गरी आफ्नो जित सुनिश्चित गर्न मतदाता रिझाउने घरदैलो अभियान चलाइरहेका छन् ।

विसं २०७९ को निर्वाचनजस्तै यसपटक पनि पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससँगको वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई निर्वाचित भएका थिए ।

एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनका कारण आफ्नो उम्मेदवार उठाउन नपाएको कांग्रेसले यसपटक महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ ।

हरि रोकालाई उम्मेदवार बनाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उत्साहित हुँदै घरदैलो अभियानमा जुटेको छ । साङ्गठनिक रूपमा एमाले र कांग्रेसभन्दा केही कमजोर देखिए पनि उम्मेदवारको क्षमता र छ जना पूर्वसांसदको साथका कारण मतपरिणाम आफ्नो पक्षमा आउने नेकपाका नेताहरूको दाबी छ ।

प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ (१) मा एमालेका पाँचकर्ण राई र क्षेत्र नम्बर २ (२) मा कांग्रेसका भूपेन्द्र राई प्रदेशसभा सदस्य छन् । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि छन् ।

दुई नगरपालिका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेकपाका छन् ।

एमालेका एक गाउँपालिका उपप्रमुख र दुई वडाध्यक्ष छन् । उनासी वडा रहेको जिल्लामा एक वडाध्यक्ष भने कांग्रेसका बागी उम्मेदवारले जितेका छन् ।

पहिलोपटक जिल्लामा संगठन विस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र पहिलोपटक चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टी तथा राष्ट्रिय परिवर्तन पार्टीले पनि पुराना राजनीतिक दललाई चुनौती दिएका छन् ।

रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृति पार्टीबाट आरेन राई उम्मेदवार बनेका छन् । जेन–जी युवाले दर्ता गराएको राष्ट्रिय परिवर्तन पार्टीले जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा विभाजित छ । तत्कालीन निर्वाचनका उम्मेदवार डा. केकेले अहिले पार्टी छाडिसकेका छन् । विभाजित जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनिल चाम्लिङ उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले दीपक तामाङलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा डा. राजकुमार राई र तिलकचन्द्र राई चुनावी मैदानमा छन् ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल र १९५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

Skip This
Skip This
Logo