गण्डकी। कास्की जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नं २ मा समेटिएका भूभाग कहिले कुनै क्षेत्रमा त कहिले कुनै क्षेत्रमा अदलबदल भइरहेका छन्। विसं २०४८ देखि २०६४ सालसम्म तीन मात्र निर्वाचन क्षेत्र रहेको कास्कीमा २०६४ सालदेखि २०७० सालसम्म चारवटा निर्वाचन क्षेत्र कायम गरिएको थियो। तर २०७४ सालपछि पुनः तीनवटा निर्वाचन क्षेत्र कायम गरिएका छन्।
पछिल्लो भौगोलिक संरचनाअनुसार यो क्षेत्र यसअघिको क्षेत्र नं ३ का अधिकांश वडा मिलाएर बनाइएको हो। अघिल्लो भौगोलिक विभाजनअनुसार ३ नम्बर क्षेत्रमा रहेका सात र ३ नम्बर क्षेत्रमा रहेका चारवटा वडा हाल यस क्षेत्रमा पर्छन्। पोखराका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले ३ नम्बर क्षेत्रमा परेका थिए भने ११, १५, १६ र २० नं वडा २ नम्बर क्षेत्रमा पर्दथे। विसं २०६४ अघि २ नम्बर क्षेत्र आठवटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनेको थियो।
विसं २०६४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा परेका थिए। उक्त निर्वाचनमा क्षेत्र नं २ मा कुल मतदाता ८४ हजार १३४ जना रहेको र मतदान केन्द्रको संख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांश विकासका दृष्टिले पछि परेको मतदाताको गुनासो छ। विकास र समृद्धिका विषय चुनावका समयमा उठे पनि चुनावपछि कार्यान्वयन ओझेलमा पर्ने गरेको मतदाताले बताएका छन्।
यस क्षेत्रको वडा नं १६ भएर जाने मध्यपहाडी लोकमार्गको विवाद लामो समयदेखि समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको स्थानीय मतदातासमेत रहेका अधिवक्ता हरिप्रसाद भट्टराईले बताए।
“लोकमार्गअन्तर्गत यस क्षेत्रको अर्मलाकोटदेखि जौबारीसम्मको सडकखण्ड दुई वर्षअघि नै ट्र्याक खुल्नुपर्ने थियो तर यस मार्गमा जग्गा पर्ने स्थानीयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले अन्तरिम आदेश जारी गर्दा काम रोकिएको छ,” उनले भने, “समस्या समाधानका लागि राज्यले जग्गाधनीसँग समन्वय गरेको देखिँदैन। पीडितलाई उचित मुआब्जा दिएर समस्या समाधान गर्नुपर्छ।”
वडा नं १६ को महेन्द्र गुफादेखि अर्मलाकोटसम्मको सडक कालोपत्र गर्ने विषयलाई पनि यसपटकको चुनावमा उम्मेदवारसँग प्रतिबद्धता खोजिने मतदाताले बताएका छन्। पोखरालाई खानेपानी पु¥याउने मुख्य स्रोत अर्मला भए पनि यहाँका केही बस्ती खानेपानीबाटै वञ्चित रहेको भट्टराईले बताए।
यस क्षेत्रको समृद्धि र विकासका लागि कृषि र पर्यटन नै प्रमुख सम्भावनाका क्षेत्र रहेको स्थानीयको भनाइ छ। यहाँस्थित कालीलेक क्षेत्रमा पाइने जडीबुटीलाई आयआर्जनको महत्वपूर्ण विकल्प बनाउन सकिने उनीहरूको तर्क छ। कालीलेक क्षेत्रमा पाइने दुर्लभ वनस्पति लौठसल्ला जस्ता स्रोतको उपयोग हुनुपर्ने र चोकोडाँडालगायत क्षेत्रको पर्यटकीय प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
कुनै समय मूलागाउँका रूपमा चिनिएको अर्मलामा अहिले मूलाको उत्पादन घट्दै गएको बताउँदै भट्टराईले यस क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्न सके स्थानीयको आम्दानी बढाउन सकिने बताए। महानगरका रूपमा चर्को कर तिर्नुपरे पनि महानगरको अनुभूति नपाएको मतदाताको गुनासो छ।
यस निर्वाचन क्षेत्रभित्र मुख्य बजार क्षेत्रमा पर्ने वडा नं ४, ७, ८, ९, ११, १५ र १७ का स्थानीय व्यवस्थित सहरीकरणको अपेक्षामा छन्। तर वडा नं १६, २०, २१ र ३३ का कतिपय स्थान अझै दुर्गमजस्तै रहेको स्थानीयको दुखेसो छ। वडा नं ३३ स्थित सुरौदी तथा चवादी क्षेत्रमा पोखराबाट सिधा भन्दा तनहुँको दुलेगौडाबाट जान सजिलो छ। सडक तथा यातायातको पहुँच अभावकै कारण सर्वसाधारणलाई आफ्नै जिल्लाको सदरमुकाम पोखरा जान पनि तनहुँ हुँदै जानुपर्ने बाध्यता रहेको समाजसेवी यामप्रसाद पौडेलले बताए।
यस क्षेत्रमा बग्ने सुरौदी खोलाको कटान नियन्त्रणका विषय पटकपटक उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सुरौदीका अगुवा किसान रमेश आचार्यले बताए। सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउन सके समग्र पोखरालाई नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको उनको भनाइ छ।
यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको स्थानीयले बताएका छन्। सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा खेतीपाती र आवतजावत गर्नेहरूलाई बर्खामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।
पुल नहुँदा खोला तर्न पाँच–सात किलोमिटर माथि वा तल हिँड्नुपर्ने अवस्था रहेकाले तत्काल झोलुङ्गे पुल आवश्यक देखिएको उनीहरूको तर्क छ। यस क्षेत्रको दोभानस्थित टुनीखोला र कदमबोटे–कुर्लिङ क्षेत्रमा पक्की पुल पनि अपरिहार्य रहेको स्थानीयले बताएका छन्।
सुरौदीको जलसम्पदाको उपयोग गर्दै जलपर्यटन विकास गर्न सकिने र कुर्लिङ बराह, पुँडीटारको भुलभुला बाराही तथा भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने स्थानीयको भनाइ छ। हुडिकोट र बरपाण्डेथुम क्षेत्रको पर्यटकीय विकाससँगै दूधको सहरका रूपमा चिनिएको बागमारा क्षेत्रलाई कृषि पर्यटनको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ।
कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति नपाएको गुनासो गर्ने मतदाताले आसन्न निर्वाचनमा उम्मेदवारसँग यी सबै विषयमा स्पष्ट प्रतिबद्धता खोज्ने बताएका छन्।
यस निर्वाचनमा यस क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ राजनीतिक दलका र पाँच स्वतन्त्र उम्मेदवार छन्। नेपाली कांग्रेसबाट माधवप्रसाद बाँस्तोला, नेकपा एमालेबाट रश्मि आचार्य, नेकपाबाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।































प्रतिक्रिया