काठमाडौँ
सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुप विरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज विषयवस्तुको गम्भीरतालाई ध्यान दिँदै गहनतम छलफल गर्नु पर्ने भएको भन्दै बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
कातिपुर विरुद्धको मुद्दा माथिको सुनुवाइपछि अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘अदालतको अपहेलना सम्बन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यता एवं व्यवहारमा यसको प्रयोग सम्बन्धमा बृहत् व्याख्याको यस इजलासले महसुश ग¥यो, गहनतम छलफल गर्नु पर्ने भएकाले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनु पर्ने देखिन्छ ।’ प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति सम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर अवहेलनाको मुद्दा दायर गरेका थिए । प्रधानन्यायाधीश पराजुलीको एकल इजालासले गत फागुन १३ गते अदालतको अपहेलना मुद्दामा कान्तिपुर ग्रुपलाई बयानका लागि ७२ घण्टाभित्र उपस्थित हुन आदेश दिएको हो । आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टा भित्र ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको थियो । सोही विषयमा बयानपछि अदालतले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने तय गरेको हो ।
रासस































प्रतिक्रिया