काठमाडौँ
संसद बैठक भित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि ०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउने लगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्व सम्मत रुपमा पारित भएको छ ।
कार्याविधि अनुसार सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बाधा पुर्याउने, अभद्र व्यवहार गर्ने वा संविधान वा कार्यविधिको जानीजानी उल्लंघन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले सुरुमा सुनाउनेछन् । ‘नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन् । प्रस्ताव उपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइने छैन,’ कार्यविधिमा भनिएको छ, ‘प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्य त्यसपछिको १५ दिन सम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’ निलम्बन भएको सदस्य तुरुन्त बैठकस्थलबाट बाहिर जानु अनिवार्य गरिएको छ ।
अन्तरिम कार्यविधिमा सभामुखको आसनतर्फ पिठ्युँ फर्काएर बस्न नहुने, कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ । ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने र बैठक कक्षमा मोबाइल फोन तथा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न नहुने’ व्यवस्था कार्यविधिमा गरिएको छ ।
नागरिकबाट































प्रतिक्रिया