काठमाडौं
नयाँ संविधान अनुसार गठन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक सोमबार (आज) अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अपराह्न ४ बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताले भने सम्बोधन नगर्ने भएका छन् । संसद सचिवालयले पहिलो बैठकमा शीर्ष नेतासँगै अन्य नेतालाई दलीय आधारमा सम्बोधन गर्न दिने गरी तयारी गरेको थियो । तर आइतबार बसेको पाँच दलका नेताको बैठकमा सोमबारको सदनलाई शीर्ष नेताले सम्बोधन नगर्ने सहमति भएको छ । दलीय सहमति अनुसार पहिलो बैठकमा शीर्ष नेताले बोल्ने कार्यसूची नरहेको संसद सचिवालयका एक अधिकारीले बताए ।
संसद्को कार्यक्रम तय गर्न बसेको बैठकको सहमति अनुसार प्रधानमन्त्रीले विश्वासको मत फागुन २७ मा लिने भएका छन् । त्यस्तै सभामुखको निर्वाचन फागुन २६ गते र राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गते गर्ने निर्णय भएको छ । उपसभामुखको निर्वाचन चैत २ गते र उपाध्यक्षको निर्वाचन चैत ४ गते हुने तय भएको छ । बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका नेता सहभागी थिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बस्ने पहिलो बैठकमा सर्वप्रथम ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट अधिवेशन आह्वान पत्र पढेर सुनाउने छन् । त्यसपछि उनले क्रमशः राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरेको पत्र र राष्ट्रपति कार्यालयबाट आएको मन्त्रिपरिषद विस्तारको पत्र पढेर सुनाउनेछन् । बैठकको आलोपालो अध्यक्षता गर्ने पाँच जना नाम तोक्ने, प्रतिनिधिसभा अन्तरिम कार्यविधि पारित गर्ने, एक मिनेट सहिद प्रति मौन धारण गर्ने र सभामुखको निर्वाचन मिति घोषणा गर्ने कार्यसूची तय भएको छ ।
नागरिकबाट





























प्रतिक्रिया