सुकुम्वासीलाई भोट बैंक बनाउने राजनीति अब चल्दैन: बालेन

सुकुम्वासीलाई भोट बैंक बनाउने राजनीति अब चल्दैन: बालेन

काठमाण्डौमा जस्तो झाँपाका सुकुम्वासी बस्तीमा डोजर नचल्ने जिकिर

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापाका सुकुम्वासीलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । झापा–५ मा चुनावी प्रचारका क्रममा कमल गाउँपालिकाका सुकुम्वासीसँग भेट्दै बालेनले काठमाडौँ र झापाको अवस्था एउटै नभएको भन्दै सुकुम्वासी बस्तीमा डोजरको चलाउँछ भन्ने डर फैलाएकोमा आपत्ति जनाए ।

सुकुम्वासी युवाहरूले काठमाडौँमा डोजर चलाएकै कारण झापामा पनि उठाइन्छ कि ?” भन्ने गुनासो गरेपछि बालेनले भने, “यहाँ डोजर चल्दैन, तपाईँहरूलाई उठाउने होइन, अधिकार दिने हो।”

काठमाडौँमा हटाइएका बस्तीहरू खोलाको छेउ, बाढीको उच्च जोखिममा रहेका सार्वजनिक जग्गामा भएका र बर्खामा बाढी आउँदा त्यहाँ मानिसको ज्यानै जाने जोखिम भएकोले डोजर चलाउनुपरेको बताए । सुकुम्वासीलाई सुरक्षित ठाउँमा सार्न खोज्दा डोजरको न्यारेटिभ बनाएर भ्रम फैलाएको भन्दै मतदातालाई ढुक्क हुन आग्रह गरे ।

काठमाण्डौं र झापाको सन्दर्भ फरक रहेको स्पष्ट पार्दै उनले खोलाछेउ बाहेकका सुकुम्वासीले लालपुर्जा पाउनैपर्छ र ४०–५० वर्षदेखि बस्दै आएका मान्छेलाई कहिल्यै लालपुर्जा नदिने ? यो अन्याय हो भन्दै आक्रोश व्यक्त गरे ।

उनले भूमि आयोग र राजनीतिक दलको भूमिकामाथि पनि कडा प्रहार गरे ।
“पार्टीको मान्छे टीका लगाएर आयोगमा जान्छ, एउटै मान्छेले दुई–तीनवटा लालपुर्जा पाउँछ तर जिन्दगीभर सुकुम्वासी भएर बसेकाले एउटा पनि नपाउने ? यो सिस्टम तोड्नुपर्छ ।,” उनले भने ।

बालेनले लगत संकलन, स्थानीय सरकारको सिफारिस र केन्द्र सरकारको जिम्मेवारीबाट सुकुम्वासीलाई कानुनी मालिक बनाइनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका थिए ।

Logo