भोजपुरमा मतदाता रिझाउन गाउँ केन्द्रित उम्मेदवार

भोजपुरमा मतदाता रिझाउन गाउँ केन्द्रित उम्मेदवार

केन्द्रबिन्दु
36
Shares

टक्सार। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहाडी जिल्ला भोजपुरबाट १२ राजनीतिक दलका १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा मनोनयन दर्ता गरेसँगै उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियानमा लागेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवार गाउँ केन्द्रित भएका छन् । सदरमुकाममा चहलपहल कम देखिँदा गाउँघरमा चुनावी गतिविधि बढेको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुटेका छन् भने दलहरू मतदाता आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन् ।

आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शेरधन राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टीबाट अजम्बर राई काङमाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशप्रसाद ओझा, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, नेकपा (माओवादी)बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई र आमजनता पार्टीबाट युवराज थापा चुनावी मैदानमा छन् ।

नौ वटा स्थानीय तह रहेको भोजपुरमा ८७ मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको छ । जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

Skip This
Skip This
Logo