कास्की ३का मतदाता भन्छन् -कृषि,पर्यटन र पूर्वाधार विकासको ग्यारेन्टी गर्नेले भोट पाउँछ

कास्की ३का मतदाता भन्छन् -कृषि,पर्यटन र पूर्वाधार विकासको ग्यारेन्टी गर्नेले भोट पाउँछ

केन्द्रबिन्दु
27
Shares

गण्डकी । कास्कीको निर्वाचन क्षेत्र नं. ३ ले जिल्लाका तीन स्थानीय तहलाई समेटेको छ । अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा पोखरा महानगरपालिकाका ११ वडा यस क्षेत्रमा पर्दछन् ।

पर्वतीय पर्यटनमा विश्वव्यापी चर्चा पाएको अन्नपूर्ण आधार शिविरदेखि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यस क्षेत्रमा पर्छ । पोखरा महानगरपालिका अन्तर्गत वडा नं. १, २, ३, ५ र ६ मुख्य बजार क्षेत्र हुन् । त्यस्तै वडा नं. १८ सराङकोट, वडा नं. १९ लामाचौर र पुरनचौर, वडा नं. २२ पुम्दी, वडा नं. २३ चापाकोट र भदौरेका केही भाग, वडा नं. २४ कास्कीकोट तथा वडा नं. २५ हेमजा ग्रामीण क्षेत्रमा पर्छन् ।

बजार क्षेत्रका मतदाताले व्यवस्थित र सुविधा सम्पन्न सहर विकासको प्रतिबद्धता उम्मेदवारसँग खोजिरहेका छन् । ग्रामीण क्षेत्रका मतदाताले महानगरलाई कर तिरे पनि सोहीअनुसार सेवा–सुविधा नपाएको विषयलाई चुनावी मुद्दा बनाएका छन् । ग्रामीण क्षेत्रमा बढ्दो बाँदर समस्याका कारण बस्ती छाड्नुपर्ने अवस्थासमेत देखिएकाले यसको दीर्घकालीन समाधानको माग भइरहेको छ । आलु गाउँका रूपमा परिचित हेमजालगायत क्षेत्रमा कृषिको व्यवस्थित विकासको सम्भावना रहेको छ ।

अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका धेरै वडामा अझै सडक, बाटोघाटो र अन्य पूर्वाधारको आवश्यकता रहेको छ । पोखरा महानगरका वडा नं. २२ पुम्दी, २३ चापाकोट र २४ कास्कीकोटका केही भागमा समेत पूर्वाधार विकास अपुग रहेको छ ।

स्थानीय बासिन्दाले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, पर्यटन र जनजीविकाका विषयलाई चुनावी मुद्दा बनाउने तयारी गरेका छन् । अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका पर्वतीय पर्यटनका प्रचुर सम्भावना बोकेका क्षेत्र भएको स्थानीय मतदाता तथा पत्रकार टङ्कप्रसाद अधिकारीले बताए । उनका अनुसार पर्यटनमैत्री पूर्वाधार विकासमा जोड दिन आवश्यक छ ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, छोमरोङ हुँदै माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविर पर्वतीय पर्यटनका प्रमुख गन्तव्य हुन् । माछापुच्छ्रे गाउँपालिकाको मर्दी पदमार्ग पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको छ । भौगोलिक विकटता र जलवायु परिवर्तनको प्रभावका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले बताए ।

समय–समयमा हुने हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम व्यवस्थापन आवश्यक रहेको उनले बताए। अन्नपूर्ण आधार शिविर पदमार्ग अझै सबै प्रकारका पर्यटकका लागि सहज पहुँचयुक्त बन्न नसकेको उनको भनाइ छ । पदमार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुल निर्माण आवश्यक रहेको उनले बताए । सञ्चार पहुँच र विद्युतीकरण पदमार्ग क्षेत्रका मुख्य समस्या रहेको उल्लेख गरिएको छ ।

अन्नपूर्ण आधार शिविर क्षेत्रसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार नभएकाले विद्युतीकरणको आवश्यकता रहेको बताइएको छ । अन्नपूर्ण आधार शिविर जाने मार्गमा पर्ने पूजनीयम् बराह, लुम्लेको कान्छी बराह र फेवातालस्थित ताल बाराही धार्मिक पर्यटनका प्रमुख गन्तव्य हुन् ।

अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन विकाससँगै पोखराको लेकसाइड र फेवातालको संरक्षण चुनौतीपूर्ण रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । फेवातालको मापदण्ड कार्यान्वयन गर्दा स्थानीयवासीलाई उचित मुआब्जा र क्षतिपूर्ति आवश्यक रहेको उनको भनाइ छ ।

लेकसाइड क्षेत्रका कोमागाने पार्क, बसुन्धरा पार्क, नेपाल ट्रष्ट र पर्यटन मन्त्रालयअन्तर्गतका खाली जग्गालाई व्यवस्थित पार्किङका रूपमा उपयोग गर्न आवश्यक रहेको उनले बताए । अव्यवस्थित पार्किङले लेकसाइड क्षेत्रमा समस्या बढाएको उल्लेख गरिएको छ ।

पर्यटन यस क्षेत्रको आर्थिक समृद्धिको प्रमुख आधार भएकाले दीगो र व्यवस्थित पर्यटन नीति आवश्यक रहेको उल्लेख गरिएको छ । आसन्न निर्वाचनमा यस क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय पोखराका अनुसार नेपाली कांग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले)बाट दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ, नेपाल कम्युनिष्ट पार्टीबाट गोपाल गिरीलगायत उम्मेदवार छन् । यस क्षेत्रमा एक लाख सात हजार ५६० मतदाता रहेका छन् ।

यहाँका मतदाताहरुले कृषि, पर्यटन र पूर्वाधार विकासको ग्यारेन्टी गर्नेले यसपाली निर्वाचनमा विजयीको मत पाउने बताएका छन् ।

Skip This
Skip This
Logo