काठमाडाैं । चीनले विद्युतीय सवारी साधनहरूमा प्रयोग गरिने लुकेका वा ‘कन्सील्ड’ डोर ह्यान्डलहरूमाथि प्रतिबन्ध लगाएको छ । टेस्लाद्वारा लोकप्रिय बनाइएको यो डिजाइनका कारण दुर्घटनाको समयमा उद्धारमा कठिनाइ भएको र ज्यान समेत गएको घटनाहरू सार्वजनिक भएपछि चीन यस्तो प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको हाे ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको नयाँ सुरक्षा नियम अनुसार, अब चीनमा बिक्री हुने सबै कारका ढोकाहरूमा भित्र र बाहिर दुवैतर्फबाट खोल्न मिल्ने मेकानिकल रिलिज अनिवार्य हुनुपर्नेछ । यो नियम जनवरी १, २०२७ देखि लागू हुनेछ।
यसअघि नै स्वीकृत भइसकेका र बजारमा आउन लागेका मोडलहरूलाई डिजाइन परिवर्तन गर्न जनवरी २०२९ सम्मको समय दिइएको छ।
किन लगाइयो प्रतिबन्ध ?
हालैका वर्षहरूमा चीनमा भएका केही भयानक दुर्घटनाहरू, विशेष गरी शाओमीका विद्युतीय कारहरू आगलागी हुँदा पावर फेल भएका कारण ढोका नखुलिँदा मानिसहरू भित्रै थुनिएर मृत्यु भएको थियो। यस्ता घटनाहरूले यो आधुनिक डिजाइनको सुरक्षामाथि गम्भीर प्रश्न उठाएका थिए। विद्युतीय ह्यान्डलहरू ब्याट्री वा सेन्सरमा निर्भर हुने भएकाले दुर्घटनाको समयमा बिजुली काटिएमा ती बाहिर निस्कँदैनन्, जसले गर्दा बाहिरबाट उद्धारकर्ताहरूले ढोका खोल्न सक्दैनन्।
अब कारको बाहिरी ढोकामा कम्तीमा ६ सेमी लम्बाइ र २ सेमी चौडाइ को खाली ठाउँ हुनुपर्नेछ ताकि आपतकालीन अवस्थामा हातले समातेर ढोका तान्न सकियोस्।कारको भित्रपट्टि ढोका कसरी खोल्ने भन्ने जानकारी दिने १ सेमी x ०.७ सेमी भन्दा ठूलो आकारको संकेत अनिवार्य हुनुपर्नेछ।































प्रतिक्रिया