जनताको मत र जितको असली हकदार हामी हौं -उपेन्द्र यादव

जनताको मत र जितको असली हकदार हामी हौं -उपेन्द्र यादव

केन्द्रबिन्दु
15
Shares

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जितको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् ।

मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुुन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७, स्थित इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ ।’

मधेश जनविद्रोहबाटै मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उनले अबको लडाई अधिकार र विकासका लागि हुने बताए ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले शोषित उत्पीडित जनताको अधिकारप्राप्तिका आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र विकासीय बजेट विनियोजन आवश्यक रहेको बताए ।

मधेशमा अझैं अशिक्षा एवम् चरम गरिबी ब्याप्त रहेको बताउँदै अध्यक्ष यादवले भने ‘जनसङ्ख्याको आधारमा हाम्रो भागेदारी आवश्यक छ, सङ्घीय संरचनामा प्रदेशहरु त स्थापना भयो तर अधिकार छैन, त्यसैले अधिकारसम्पन्न प्रदेश अब हामी बनाउँछौं ।’

तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल हालको जसपा नेपालको नेतृत्वमा सङ्घर्ष हुनु अघिको अवस्थाबारे स्मरण गराउँदै जसपा नेपालका अध्यक्ष यादवले भने, ‘सरकारी कार्यालयहरुमा मधेशी अनुहार नगण्य जस्तै थियो तर अहिले सरकारी कार्यालयहरुमा मधेशी चेहरा पनि देखिन थालेको छ, यतिमात्र होइन, सेना पुलिस लगायतका सुरक्षा अङ्गहरुमा समेत समावेशिता र प्रतिनिधित्व देखिन थालेको छ, यो मधेश विद्रोहकै देन हो ।’

Skip This
Skip This
Logo