खोटाङ। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोट घटनामा खोटाङका तीन युवाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
मेघालयको पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते भएको विस्फोटमा बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो।
विस्फोटका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्। विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर मृत्यु भएको हुन सक्ने जनाइएको छ।
मेघालयमा सँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेकै समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए। विस्फोटपछि उद्धारका क्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेको जानकारी आफन्तले परिवारलाई गराएका छन्।
विस्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ। उनी रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएका थिए।
विस्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारका क्रममा यही माघ २३ गते मृत्यु भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए।
घटनाकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ रहेको स्थानीयवासी इन्द्र लिमेल मगरले बताए। विस्फोटमा बरापोखरी गाउँपालिका–१ सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
विस्फोटपछि ताराबल मगरले फोनमार्फत घटनाको जानकारी दिएको मृतकका आफन्तले बताएका छन्। विस्फोटमा ज्यान गुमाएका खोटाङका युवाको शव मेघालयबाट नेपाल ल्याउन परिवारलाई कठिनाइ भइरहेको छ। घटनाको जानकारी पाएपछि घरबाट तीन दिन लगाएर मेघालय पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले शव स्वदेश ल्याउन समस्या भइरहेको बताए।
शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए।































प्रतिक्रिया