विराटनगर । बहुचर्चित सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणमा ८ वर्ष बितिसक्दा पनि हराएको सुन फेला नपरेकै अवस्थामा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसला आंशिक रूपमा उल्ट्याएको छ। अदालतले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई थप सजाय तोकेको हो। यसअघि जिल्ला अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) को सजाय सुनाएको थियो।
उच्च अदालतले केही प्रतिवादीको हकमा भने सजाय घटाएको छ। नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई २०–२० वर्षबाट घटाएर १०–१० वर्ष कैद सजाय सुनाइएको छ।
त्यस्तै, हत्या प्रकरणमा मतियार ठहर भएका मदन सिलवाललाई ३ वर्ष कैद सजाय सुनाइएको छ। लाक्पा शेर्पा र भविन तामाङको पुनरावेदन खारेज भएसँगै उनीहरूको हकमा जिल्ला अदालतकै फैसला कायम भएको छ।
३३ किलो सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासी मुद्दामा भने उच्च अदालतले सबै प्रतिवादीको हकमा प्रमाण नपुगेको ठहर गरेको छ। यसअघि जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालतले सदर गरेको हो।
यस प्रकरणमा पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीएसपी सञ्जयबहादुर राउतसहित उच्च प्रहरी अधिकारी र व्यापारीहरू सफाइ पाउनेमा परेका छन्।
घटना संक्षेपमा
२०७४ माघ ९ गते दुबईबाट ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएको थियो। सोही सुन खोज्ने क्रममा २०७४ फागुन १८ गते मोरङ उर्लाबारीमा सनम शाक्यको यातना दिँदै हत्या गरिएको थियो।
अनुसन्धानमा २०१५ देखि २०१६ सम्म करिब ३८ क्विन्टल सुन अवैध रूपमा नेपाल भित्र्याइएको खुले पनि मुख्य ३३ किलो सुन अहिलेसम्म भेटिएको छैन।





























प्रतिक्रिया