काठमाडौं
४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत आयोजना विद्युत उत्पादन गर्ने अन्तिम चरणमा पुगेको छ । आयोजनाले आगामी चैत अन्तिम साता पहिलो चरणको २५ मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको हो । दुई चरणमा जम्मा ४० मेगावाट उत्पादन गर्ने आयोजनाले पहिलो चरणको २५ मेगावाट विद्युत उत्पादनको तयारी अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत विकास कार्कीले जानकारी दिए । आयोजनाको ९३ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।
आयोजना दोलखाको गौरीशंकर गाउँपालिकाको साबिक मार्बु–९ को खानी खोला र हनबु खोलाको दोभानमा पर्छ । त्यहाँ भूमिगत रूपमा पावरहाउस निर्माण काम अन्तिम चरणमा पुगेको छ । अधिकृत कार्कीका अनुसार खानी खोलालाई फर्काएर साँढे २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी पावरहाउस सम्म ल्याउने काम झन्डै ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।
अब केही दिन भित्रै पेनस्टक जडानको काम पनि सकिने इन्जिनियर गोविन्द अर्यालले जानकारी दिए । आयोजनाको ग्रेस हेड ९ सय ६३ मिटर छ । उनले हेडरेस र ठाडो सुरुङको काम पूरा भएको बताए । आयोजनाको काम ५ वर्ष अघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्ले देखि पावरहाउस कोप्लाङ सम्म ३० किलोमिटर सडक आफैँले निर्माण गरी प्रयोग गरिरहेको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया