म्याग्दी। पशुलाई महामारीजन्य रोगबाट जोगाउन जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपमार्फत पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।
करिब ११ हजार घरपरिवारका किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक हजार ६६८ बङ्गुर, चार हजार ८७७ कुकुर–बिरालो र ३७९ चौरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।
गाईभैँसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पिपिआर, कुकुर–बिरालोलाई रेबिज तथा बङ्गुर÷सुगुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइने जनाइएको छ । बेनी नगरपालिका, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भइसकेको छ भने रघुगङ्गा र मङ्गला गाउँपालिकामा अभियान सुरु भएको छ ।
किसानका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति तथा पालिकास्तरमा जनप्रतिनिधि र अगुवा किसानलाई अभिमुखीकरण गरी प्राविधिक परिचालन गरिएको छ ।
पूर्णखोप अभियानका लागि एक वडामा भूगोल र पशु सङ्ख्याका आधारमा दुईदेखि तीन जनाका दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएको किसानहरूको भनाइ छ ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोग नियन्त्रण गरी जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबाट बच्न तथा पशुजन्य रोगको उपचार र नियन्त्रणमा लाग्ने समय र खर्च बचत गर्न पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको किसानहरूको अनुभव छ ।
गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउने लक्ष्यसहित ११ जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरेको छ ।





























प्रतिक्रिया