‘सीआईबी’ बनेर ६० लाख लुटपाट गर्ने विमानस्थलका प्रहरी हवल्दार सहित ४ जना पक्राउ

‘सीआईबी’ बनेर ६० लाख लुटपाट गर्ने विमानस्थलका प्रहरी हवल्दार सहित ४ जना पक्राउ

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । प्रहरी संगठनको नाम प्रयोग गरेर ठूलो रकम ठगी गर्ने गिरोह काठमाडौंमा सक्रिय रहेको खुलासा भएको छ । आफूलाई अपराध अनुसन्धानमा खटिएको प्रहरी टोली भन्दै सर्वसाधारणलाई डर देखाई ६० लाख रुपैयाँ लुटपाट गरिएको घटनामा एक जना प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिँदै अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार पनि रहेका छन्।

प्रहरीका अनुसार गिरोहले ‘सस्तोमा सुन उपलब्ध गराइदिन्छौं’ भन्दै पीडितलाई बोलाएर रकम लिएपछि आफूहरू सीआईबीको प्रहरी भएको नाटक गर्दै रकम कब्जा गरेको थियो। सरकारी निकायको नाम र डर प्रयोग गरेर रकम असुल्ने शैली अपनाइएको देखिएको छ।

एसएसपी सन्तोष खड्काका अनुसार घटनाले प्रहरी संगठनको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ। “प्रहरीकै पहिचान प्रयोग गरेर अपराध गरिएको गम्भीर विषय हो, सबै कोणबाट अनुसन्धान भइरहेको छ,” उनले बताएका छन्।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामाथि आपराधिक योजना कसरी बनेको, यसमा थप व्यक्ति संलग्न छन् कि छैनन् भन्नेबारे पनि छानबिन भइरहेको छ।

Logo