एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजद्धारा देशव्यापी ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम शुरु

एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजद्धारा देशव्यापी ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम शुरु

५० हजार विद्यार्थी लाभान्वित हुने लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन्। मङ्गलवारदेखि सुरु गरिएको यो सामाजिक अभियानमार्फत देशभरका विद्यालयमा साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रमबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदायका सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल नमुना परियोजनाका रूपमा बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक र निजी विद्यालयमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी साइबर सचेतना सत्र सञ्चालन गरिँदैछ ।

अभियानअन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ। सत्रपछि उक्त पुस्तक सहभागी विद्यार्थीलाई वितरण गरिनेछ। पहिलो चरणमा तीन प्रदेशमा कार्यान्वयनपछि आगामी आर्थिक वर्षदेखि अन्य प्रदेशमा पनि कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।

यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई’ रहेको छ ।

कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो। सो अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा र कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे विद्यार्थीहरूसँग विचार साझा गरेका थिए।

फोलेले इन्टरनेट दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको उल्लेख गर्दै यससँग जोडिएका जोखिमबारे सचेत हुनुपर्ने बताए। एसआईटी कार्यक्रममार्फत विद्यार्थी तथा युवालाई डिजिटल संसारमा सुरक्षित र जिम्मेवार रूपमा रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य रहेको उनले बताए।

नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले डिजिटल प्लेटफर्मले युवाको सिकाइ र निर्णय प्रक्रियामा प्रभाव पारिरहेको उल्लेख गर्दै अनलाइन सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। डिजिटल साक्षरता र साइबर सचेतना वित्तीय साक्षरताजत्तिकै महत्वपूर्ण भएको उनको भनाइ छ।

एसआईटी कार्यक्रम एनसेल फाउन्डेसनको सुरक्षित र समावेशी डिजिटल वातावरण प्रवद्र्धन गर्ने प्रतिबद्धतासँग जोडिएको जनाइएको छ। सहकार्यले डिजिटल साक्षरता अभिवृद्धि, जोखिम न्यूनीकरण र डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

हालसम्म कास्कीका श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कूल, सेन्ट–मेरिज स्कूल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुलमा सत्र सञ्चालन भइसकेका छन्। साथै ललितपुरका सेन्ट–मेरिज स्कूल र बानी विलास हाई स्कूल तथा भक्तपुरका आदर्श हाई स्कूलमा पनि कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ। हालसम्मका सत्रबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्।

Logo