म्याग्दीमा युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी

म्याग्दीमा युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी

केन्द्रबिन्दु
21
Shares

गलेश्वर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा मतदाताको सक्रियता बढेको छ। भाषण, आरोप–प्रत्यारोप र आश्वासनभन्दा सुशासन, विकास र रोजगारीका ठोस योजना भएका उम्मेदवारप्रति युवाको चासो केन्द्रित देखिएको छ।

सहरीदेखि ग्रामीण क्षेत्रसम्म काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्न सक्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको छ। विगतमा आश्वासन र नारामै सीमित राजनीति दोहोरिन नदिने तयारीमा मतदाता रहेको अवस्था छ।

बेनी नगरपालिका–२ मा समाजमा विग्रह ल्याउने र भ्रम फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि देखिएको छ। मतदाताले जातीय तथा दलगत विभाजनभन्दा विकास र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्ने संकेत गरेका छन्।

मङ्गला गाउँपालिका–५ मा कृषि क्षेत्रको सम्भावना उपयोग गर्ने स्पष्ट योजना आवश्यक रहेको विषय उठेको छ। मल, सिँचाइ, सडक र बजार व्यवस्थापनजस्ता आधारभूत आवश्यकता समाधानलाई प्राथमिक मागका रूपमा अघि सारिएको छ।

म्याग्दीमा राजनीतिक दल तथा स्वतन्त्र गरी १२ उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारहरू घरदैलो कार्यक्रममार्फत आफ्ना योजना सार्वजनिक गरिरहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्। नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र किसान तथा युवाका मुद्दालाई प्राथमिकतामा राखेका छन्। नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले अधुरा विकास योजना सम्पन्न गर्ने विषयलाई जोड दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राखेका छन्।

बेनी बजारमा व्यवसायी वर्गले व्यापार, रोजगारी र आर्थिक स्थायित्वलाई प्रमुख आधार मानेका छन्। युवाहरूले देशभित्रै अवसर सिर्जना गर्ने नीति र कार्यक्रमलाई महत्त्व दिएका छन्।

शिक्षा क्षेत्रका सरोकारवालाले मतदातामा बढ्दो चेतनाले निर्वाचन मूल्याङ्कनमा आधारित हुने संकेत देखिएको विश्लेषण गरेका छन्।

यहाँका मतदाताले कालीगण्डकी करिडोर कालोपत्र, सडक स्तरोन्नति, खानेपानी, शिक्षा, कृषि प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेका छन्।

म्याग्दीमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ८६ हजार ३९७ मतदाता रहेका छन्। जिल्लामा ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन्।

Logo