काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
प्रतिष्ठानको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले विभिन्न कालखण्डमा नेपाल प्रहरीले सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका क्रममा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम र अनुशासित जनशक्ति उत्पादनमा भूमिका खेलेको जानकारी दिए।
कार्कीले प्रहरी संगठनको आधार अनुशासन र तालिम रहेको भन्दै बदलिँदो सुरक्षा चुनौती, प्रविधिको विकास र अपराधका नयाँ स्वरूपअनुसार तालिम प्रणाली परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले गुणस्तरीय तालिमले प्रहरी सेवाप्रति जनविश्वास बढाउने र अनुशासन तथा सेवाभावको स्तर कायम राख्न मद्दत गर्ने उल्लेख गरे।
प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले प्रतिष्ठानको व्यावसायिकता कायम राख्न परिवार कटिबद्ध रहेको जानकारी दिए।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी निरीक्षक ठागाप्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ र नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ शिल्ड सहित प्रशंसापत्र प्रदान गरिएको थियो।
सो अवसरमा प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’ को लोकार्पण पनि गरिएको छ।































प्रतिक्रिया