विश्व शान्तिमा नेपाली सेनाको उल्लेखनीय योगदान

विश्व शान्तिमा नेपाली सेनाको उल्लेखनीय योगदान

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको अभियानमा नेपाली शान्ति सैनिकले साहस, अनुशासन र व्यावसायिक क्षमताको परिचय दिएका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाएर सुरु भएको नेपालको सहभागिता अहिले राष्ट्रसङ्घको शान्ति अभियानको महत्वपूर्ण हिस्सा बनेको छ।

सिरियास्थित संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनका पूर्व फोर्स कमाण्डर ईश्वर हमालका अनुसार नेपाली शान्ति सैनिक अनुशासित, व्यावसायिक, तटस्थ र भरपर्दो सैनिकका रूपमा अन्तरराष्ट्रिय स्तरमा परिचित छन्। जोखिमपूर्ण परिस्थितिमा समेत तत्काल परिचालन हुनसक्ने क्षमता नेपाली सैनिकको विशेषता मानिन्छ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो। त्यसयता नेपालले सन् १९६९–७० र १९८८–८९ मा राष्ट्रसङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा भूमिका निर्वाह गरिसकेको छ। नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घको सिद्धान्तलाई प्राथमिकता दिइएको छ।

नेपाली सेना सन् १९७४ मा इजिप्टमा पहिलोपटक औपचारिक रूपमा शान्ति मिसनमा तैनाथ भएको थियो। त्यसयता ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ भन्दा बढी नेपाली सैनिक सहभागी भइसकेका छन्। सोही संख्यामा राष्ट्रसङ्घीय शान्ति पदक प्राप्त भएको छ।

विश्व शान्ति अभियानमा तीन हजार ६६६ भन्दा बढी नेपाली महिला सैनिकको पनि सहभागिता रहेको छ। नेपाली सेनाले इन्जिनियर, मेडिकल तथा विशेष फौजका रूपमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ।

साइप्रस मिसनमा फोर्स कमान्डरका रूपमा काम गरेका रथी भिक्ट्रीशम्शेर जबराले बहुराष्ट्रिय शान्ति मिसनको नेतृत्व गर्नु नेपाल र नेपाली सेनाका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। उनले विभिन्न देशका सैनिकसँग सहकार्य गर्दै शान्ति स्थापना कार्यमा योगदान पु-याएको उल्लेख गरे।

हालसम्म शान्ति मिसनका क्रममा ७४ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ भने ७७ जना गम्भीर घाइते भएका छन्।

पछिल्लो समय राष्ट्रसङ्घमा आर्थिक स्रोतको सीमितताका कारण शान्ति मिसनमा सैनिक संख्या घटाइएको छ। विसं २०७९ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथीसँगै नेपाल शान्ति सैनिक खटाउने देशको सूचीमा पहिलो स्थानमा पुगेको थियो। त्यस समयमा नेपाली शान्ति सैनिकको संख्या छ हजार १६ पुगेको थियो।

हाल विश्वका १० वटा शान्ति मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा रहेको छ।

नेपाली सेनाका अनुसार राष्ट्रसङ्घबाट अनुरोध प्राप्त भएमा ६० दिनभित्र नयाँ शान्ति मिसनमा सैनिक तैनाथ गर्न सक्ने तयारी रहेको छ। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तरराष्ट्रिय स्तरको तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वाधार विस्तार भइरहेको छ। उक्त केन्द्रमा बहुराष्ट्रिय शान्ति सैनिकबीच समन्वय र तालिमका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

शान्ति मिसनमा सहभागिताले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्न सहयोग पुगेको छ। साथै राष्ट्रसङ्घबाट प्राप्त हुने भत्ता विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बनेको छ। नेपाली शान्ति सैनिकले विभिन्न मुलुकमा नेपालको संस्कृति, भाषा र पहिचानलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराउन पनि योगदान दिएका छन्।

नेपाली सेनाले संयुक्त अधिराज्य बेलायत र पाकिस्तानमा आयोजित अन्तरराष्ट्रिय सैनिक अभ्यासमा स्वर्ण पदक जित्दै आफ्नो व्यावसायिक क्षमता प्रमाणित गरेको छ। कठिन परिस्थितिमा मिसन पूरा गर्ने, उद्धार गर्ने तथा सुरक्षा कार्यमा नेपाली सेनाले दक्षता प्रदर्शन गरेको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घ र नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिएका छन्। नेपाली सेना अन्तरराष्ट्रिय स्तरमा अनुशासित, विश्वसनीय र व्यावसायिक शान्ति सैनिकका रूपमा स्थापित भएको छ।

Skip This
Skip This
Logo