पोखरामा दुई सातापछि फोहर उठाउन सुरु

पोखरामा दुई सातापछि फोहर उठाउन सुरु

केन्द्रबिन्दु
12
Shares

कास्की। पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ। बजार क्षेत्रका सडक छेउ र चोकहरूमा थुप्रिएको फोहर लामो समयसम्म नउठ्दा शहर दुर्गन्धित बनेको थियो।

पोखरा–३२ लामेआहालस्थित अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर सङ्कलन रोकिएको थियो। फोहर व्यवस्थापनका लागि महानगरले वैकल्पिक स्थान खोज्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन। सडक किनार, चोक, बिजुलीका पोल वरिपरि तथा मुख्य सडकमा समेत फोहर थुप्रिएपछि दुर्गन्ध फैलिएको थियो।

महानगर प्रमुख धनराज आचार्यका अनुसार बिहीबार साँझदेखि फोहर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएका छन्। उनले सार्वजनिक स्थानमा जथाभावी फोहर नफाल्न नगरवासीलाई आग्रह गरेका छन्। महानगरले फोहर उठाउन सुरु गरे पनि तत्काल व्यवस्थापन गर्ने स्थानबारे स्पष्ट जानकारी दिएको छैन।

महानगरका अनुसार फोहर व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन समाधानका उपायमा काम भइरहेको छ। लामो समयदेखि थुप्रिएको फोहर भएकाले सुरुवाती दिनमा सङ्कलनमा बढी समय लाग्न सक्ने जनाइएको छ।

महानगरले शनिबारसम्म हालसम्म थुप्रिएको सबै फोहर उठाइसक्ने लक्ष्य राखेको जनाएको छ। सार्वजनिक स्थानमा फोहर फालेको पाइएमा अनुगमन टोलीले कारबाही गर्ने चेतावनी पनि दिएको छ।

पोखरामा जेनजी आन्दोलनका क्रममा ठूलो परिमाणमा फोहर उत्पन्न भएपछि लामेआहालस्थित ल्यान्डफिल साइट भरिएको थियो। त्यसपछि वैकल्पिक व्यवस्थापन स्थल खोज्ने प्रयास भए पनि स्थानीयवासीको विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।

फोहर व्यवस्थापनका विषयमा सहमति जुटाउन महानगरले सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरेको थियो। बैठकले ७२ घण्टाभित्र फोहर उठाउने र त्यसका लागि राजनीतिक दलहरूले सहयोग गर्ने सहमति गरेको थियो।

महानगरले पोखरा–३३ मा फोहर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ। तर स्थानीयवासीले समन्वय र सहमतिबेगर प्रक्रिया अघि बढाइएको भन्दै विरोध जनाएका छन्। स्थानीयको विरोधका कारण प्रशोधन केन्द्र निर्माणको काम प्रभावित भएको छ।

Logo