रसुवा। जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसंग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए।
पन्थीले आचारसंहिता उल्लङ्घन देखेमा तुरुन्त जिल्ला प्रशासन वा तोकिएका अनुगमन अधिकृतलाई जानकारी दिन आग्रह गरे। अनुगमन अधिकृतमा प्रमुख कोष नियन्त्रक सन्ध्या कार्की र सहायक प्रजिअ द्रुवप्रसाद अधिकारी रहेका छन्।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानसहित सुरक्षा निकाय परिचालित भइसकेको छ । अस्थायी निर्वाचन प्रहरीलाई सुरक्षा र कानुनी प्रशिक्षण दिइएको र नियमित सुरक्षा संयन्त्रसँग समन्वयमा काम गर्न खटाइएको पन्थीले जानकारी दिए।
जिल्लामा दैनिक गस्ती, पेट्रोलिङ र संवेदनशील क्षेत्रमा विशेष निगरानी भइरहेको बताउँदै उनले मतदाताले निर्भिक मतदान गर्नसक्ने वातावरण सुनिश्चित गरिएको उल्लेख गरे। सरकारी स्रोतसाधन दुरुपयोग नहुन प्रशासन सचेत रहेको र निजी कामका लागि सरकारी सवारी प्रयोग भए तुरुन्त सूचना दिन अनुरोध गरे।
जिल्लाभर मतदाता शिक्षा कार्यक्रम फागुन ३–१७ गते सञ्चालन हुने र यसमा मतदान प्रक्रिया, मतपत्र प्रयोग, मतदान केन्द्रमा आचारसंहिता जस्ता विषयमा जनचेतना फैलाइने छ।
स्थानीय प्रशासनले निर्वाचन शान्तिपूर्ण र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै सहकार्य र अनुशासनमा जोड दिएको छ ।





























प्रतिक्रिया