दाङ
लगातार सात बर्ष देखि औषधि खुवाउँदा पनि दाङमा लक्ष्य अनुसार हात्तीपाइले रोगको असर घट्न सकेको छैन । अन्य तरार्इका जिल्लामा पनि यस्तै समस्या देखिएको छ । आर्थिक बर्ष २०६७/०६८ देखि दाङमा हरेक बर्ष हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने क्रम जारी छ । सामान्यतः ६ बर्ष सम्म मात्र खुवाउनु पर्ने भए पनि दाङमा लक्ष्य अनुसार रोगीको संख्या नघट्दा दुई बर्ष थप गरेर औषधि खुवाइएको छ । थपिएको मध्ये गत बर्ष खुवाइएको थियो भने यस बर्ष पनि फागुन १२, १३ र १४ गते औषधि खुवाइदैछ ।
‘औषधि खुवाउनु अघि प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत दाङवासी हात्तीपाइले रोगबाट प्रभावित भएका थिए’– जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरिया निरीक्षक कमल चन्दले भन्नुभयो– ‘लगातार पाँचपटक खुवाएर सर्भे गर्दा त्यो संख्या १२ प्रतिशतमा मात्रै झरेको पाइयो ।’ ०७२ मा गरिएको सर्वेक्षणमा १२ प्रतिशत देखिएपछि पुनः सोही बर्ष र गत बर्ष पनि औषधि खुवाइएको थियो । यो बर्षको कार्तिकमा गरिएको सर्वेक्षणमा ६ प्रतिशत दाङवासीमा हात्तीपाइलेको किटाणु देखिएको छ । दाङको सिसहनियाँमा सबैभन्दा धेरै यो रोगको असर देखिएको छ । साविक सिसहनियाँ गाविसमा अहिले पनि १२ प्रतिशतकै हाराहारीमा हात्तीपाइलेका किटाणुबाट ग्रसित व्यक्ति भेटिएका छन् । तर कूल जनसंख्यामा भने ६ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया