काठमाडौं
प्रदेश १ मा सरकार गठन भएको झन्डै एक साता बितिसक्दा समेत मन्त्रीहरूले काम गर्न सकेका छैनन् । मन्त्रालय भवन तयार नहुँदा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिलामन्त्री हिक्मत कार्की बाहेक अन्य मन्त्री कार्यकक्षमा बस्नै पाएका छैनन् । मन्त्रालय जाने सडक समेत लथालिंग छन् । केन्द्र सरकारले प्रदेश राजधानी तोक्न र कर्मचारी परिचालन गर्न ढिलाइ गरेकाले मन्त्रालयका भवन तयार गर्न समय लागेको प्रदेश १ का प्रमुख सचिव यादव कोइरालाले बताए । उनका अनुसार अहिले सबै मन्त्रालय भवनको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ‘हामीले जतिसक्दो चाँडो काम गराइरहेका छौँ, पूर्ण व्यवस्थित हुन अझै केही सयम लाग्छ,’ उनले भने ।
प्रमुख सचिव कोइरालाका अनुसार केन्द्रीय सरकारले काजमा खटाएका अधिकांश कर्मचारी अझै हाजिर भइसकेका छैनन् । कर्मचारी आउन ढिलाइ हुँदा मन्त्रालयको काम प्रभावित भएको छ । ‘सबै काम शून्यबाट सुरु भएको छ, काजमा खटाइएका कर्मचारी धमाधम आइरहेका छन्, पूर्ण रूपले सक्रिय हुन केही समय त लाग्छ नै,’ उनले भने । रोडशेष चौकस्थित पहिला क्षेत्रीय कृषि निर्देशनालय रहेको भवनमा मुख्यमन्त्रीको कार्यालय राखिएको छ । सो भवन पूर्ण रूपमा खाली गराएर स्तरोन्नति भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । फर्निचर व्यवस्थापन, शाखा, महाशाखा र स्वकिय सचिवदेखि अन्य कर्मचारीको कार्यकक्ष व्यवस्थापनको काम अझै नसकिएको प्रमुख सचिव कोइरालाले बताए ।
कम्प्युटर, अन्य भौतिक सामग्री खरिद तथा इन्टरनेट जडान भइरहेको छ । मुख्यमन्त्रीको कार्यालयमा खटाइएका सबै कर्मचारी हाजिर भइसकेका छैनन् । मुख्यमन्त्री राई सामान्य भेटघाटका लागि मात्र मन्त्रालय पुग्ने गरेका छन् । यता शनिहाट चोकस्थित घरेलु तथा मझौला उद्योगको कार्यालय खाली गराएर अर्थ मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ । अहिले मन्त्रालय भवनको स्तरोन्नति र भौतिक सामग्री व्यवस्थापनको काम भइरहेको छ । अर्थ मामिला तथा योजनामन्त्री इन्द्र आङबो गत सोमबार देखि दैनिक मन्त्रालय पुगेर एक दुई घन्टा भलाकुसारी गरेर फर्कने गरेका छन् । मन्त्रालयमा सचिव आए पनि अन्य सबै कर्मचारीको व्यवस्था हुन सकेको छैन । मन्त्री आङबोले मन्त्रालयको काम आफू बसेको होटलबाटै चलाइरहेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया