तम्घासदेखि बुर्तिबाङसम्म १३२ केभी डबल सर्किट प्रसारणलाइनको परीक्षण सुरु

तम्घासदेखि बुर्तिबाङसम्म १३२ केभी डबल सर्किट प्रसारणलाइनको परीक्षण सुरु

केन्द्रबिन्दु
42
Shares

गुल्मी। नेपाल विद्युत् प्राधिकरणले गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण गरेको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरेको छ। यो प्रसारणलाइन ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ सवस्टेसनसम्म १३२ हजार भोल्ट क्षमतामा विद्युत् परीक्षण र प्रवाह सुरु गरिएको छ।

आयोजना प्रमुख मनोज चौधरीका अनुसार प्रसारणलाइन दुई दिन परीक्षण गरेपछि नियमित सञ्चालनमा ल्याइनेछ। प्रसारणलाइन गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४, ५, इस्मा गाउँपालिका–२, मुसिकोट नगरपालिका–१, २, ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६, ७ र ढोरपाटन नगरपालिका–२ सम्म विस्तार गरिएको छ।

उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर वरिपरि नजान र जनावर बाहिर नछाड्न आग्रह गरेको छ। जोखिम संकेत गरिएका स्थानबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन पनि अनुरोध गरिएको छ। परीक्षणका क्रममा झिल्का देखिएमा वा अन्य जोखिम भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरण कार्यालयमा जानकारी दिन भनिएको छ।

यो आयोजना चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको हो। आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङमा विद्युत् आपूर्ति थप भरपर्दो र स्थिर हुने अपेक्षा गरिएको छ।

कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था गरिएको छ।

यसअघि बुटवल सवस्टेसनबाट लामो दूरीमा विद्युत् आपूर्ति गर्दा पटक–पटक समस्या हुने गरेको थियो। नयाँ प्रसारणलाइन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति नियमित र दीर्घकालीन रूपमा सुधार हुने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo