जसपाका समानुपातिक उम्मेदवार नै कांग्रेसमा प्रवेश

जसपाका समानुपातिक उम्मेदवार नै कांग्रेसमा प्रवेश

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसहित केन्द्रीय तहका नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रतिनिधिसभा समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य नानु थामी र सुस्मिता थापामगर आइतबार कांग्रेसमा समाहित भएका हुन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

कांग्रेस प्रवेश गर्नेमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्य ज्ञानेन्द्र पुन, टिकाराम माझी लगायत नवलपरासीका ४२ जना नेता तथा कार्यकर्ता पनि छन्।

त्यस्तै, दोलखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी तथा संघीय समाजवादी महिला महासंघकी सुशीला थामीसहित अन्य नेता कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्।

नवप्रवेशी नानु थामीले देशको समस्या समाधान गर्न कांग्रेस उपयुक्त विकल्प भएको भन्दै पार्टी प्रवेश गरेको बताए। जनताको अपेक्षाअनुसार परिवर्तन ल्याउन कांग्रेससँगै अघि बढ्ने उनको भनाइ थियो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार नवप्रवेशी नेताहरूलाई उचित जिम्मेवारीसहित पार्टीमा समेटिनेछ ।

यसअघि शनिबार सर्लाहीमा पनि जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहितको टोली कांग्रेसमा प्रवेश गरेको थियो। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेता कांग्रेसमा प्रवेश गर्ने क्रम बढिरहेको छ।

Skip This
Skip This
Logo