भक्तपुर। भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेको जनाएको छ ।
लागुऔषधका आठ, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवाको एक र आत्महत्याका दुई वटा मुद्दा दर्ता भएका छन् ।
विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको छ । फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तानका लागि कारागार पठाइएको छ । विभिन्न घटनामा रु ६७ लाख ४७ हजार ८० जरिवाना तथा बिगो सङ्कलन गरिएको छ ।
भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित ३८ वर्षीया लालमाया तामाङको हत्या अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुर नगरपालिका–३ बस्ने ३६ वर्षीय लनाम तामाङ पक्राउ परेका छन् । उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित डेरामा आफ्नै आमा ५० वर्षीया सरिता भण्डारीको हत्या अभियोगमा पक्राउ परेका सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने २७ वर्षीय प्रविन भण्डारीलाई पनि पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
महिला हिंसाका ३६ उजुरी परेकामा २६ वटा मिलापत्र गरिएको छ भने १० वटा अनुसन्धानका क्रममा छन् । ३२ जना हराएकामध्ये २३ जना फेला परेका छन् । विभिन्न घटनामा १८३ उजुरी दर्ता भएकामध्ये १४७ को फछ्र्यौट गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ४३ उजुरीमध्ये ३७ वटाको फछ्र्यौट गरिएको छ ।
सवारी दुर्घटनातर्फ माघमा २२७ दुर्घटनामा ३४० सवारीसाधन संलग्न रहेका छन् । पाँच जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् ।
विभिन्न दुर्घटनामा १०० जनाको उद्धार गरिएको छ । सवारी चेकिङका क्रममा एक हजार ६०७ सवारीसाधनलाई कारबाही गरिएको र रु ११ लाख ४२ हजार २०० जरिवाना राजस्व सङ्कलन गरिएको छ ।































प्रतिक्रिया