अजमर, भारत
भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्फोटमा परी हराएका थप नौ जनाको मृत शरीरलाई आइतबार उद्धार गरिएको भारतीय अधिकारीले जनाएका छन् । उक्त वैवाहिक समारोहमा सहभागी मध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझ निकालिएको थियो ।
राति वैवाहिक भोज चलिरहेका समय ग्याँस सिलिण्डर विष्फोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी पनि भएको थियो । भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिका सहित थप नौ जनाको मृत शरीर भग्नावशेष भित्रबाट निकालिएको छ । “अहिले (आइतबार अपरान्ह् ) सम्म घटनास्थलबाट १८ शव निकालिएको छ,” अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भने । घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले एएफ्पीलाई बताए ।
घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विष्फोटका कारण तीन तले भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विष्फोटमा घाइते भई अस्पतालमा उपचाररत सवै विरामीलाई शनिबार साँझ नै भेटेका थिए । उनले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गरेका छन् । भारतमा खाना पकाउने ग्याँस प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्फोटका घटना हुने गरेका छन् । यद्यपि विष्फोटका कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ ।
रासस/एएफ्पी































प्रतिक्रिया